बैतडी, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ’ नियुक्त भएका छन् ।
राप्रपा केन्द्रीय सचिवालयका अनुसार अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल ९भारत०मा छात्र सङ्घका अध्यक्षसमेत रहिसकेका छन् । उनी उक्त विश्वविद्यालयमा छात्र सङ्घको अध्यक्ष हुने पहिलो नेपालीसमेत छन् । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका लख्खाभाइले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेका थिए ।
सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भई चुनाव लडेका थिए ।
पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उहाँ तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सहसंयोजक बनेका थिए । गत मङ्सिरमा दुवै राप्रपा एक भएपछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले लख्खाभाइलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपा केन्द्रीय सदस्य तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष हेमबाबु लेखकले जानकारी दिए ।