२४ जेठ २०८३, आइतबार

तेस्रो एकदिवसीयमा अस्ट्रेलियालाई १६ रनले हराउँदै इंग्ल्यान्डले शृंखला जित्यो

तेस्रो एकदिवसीयमा अस्ट्रेलियालाई १६ रनले हराउँदै इंग्ल्यान्डले शृंखला जित्यो

काठमाडौं, ७ माघ — अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्डले पाँच एकदिवसीय शृंखलाको तेस्रो खेलमा १६ रनको विजयसँगै शृंखलामा ३–० को विजय प्राप्त गरेको छ । 

सिड्नीमा आइतवार सम्पन्न दिवारात्रि खेलमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३०२ रन बनायो । जवाफमा अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

१८९ रन बनाउँदा ६ विकेट गुमाएको इंग्ल्यान्डले अन्तिम १० ओभरमा १०० रन बनाउँदै ३०२ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । इंग्ल्यान्डका लागि विकेटकीपर ब्याट्स्म्यान जोस बट्लरले ८३ बलमा ६ चौका र चार छक्काको मद्दतले नटआउट १०० रन बनाएका थिए ।

उनलाई क्रिस वोक्सले ३६ बलमा ५३ रन बनाएर साथ दिएका थिए । यी दुईले सातौं विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । 

अस्ट्रेलियाका लागि जोश हेजलवूडले दुई अनि कमिन्स, जाम्पा, स्टोइनिस र मार्शले एक एक विकेट लिए ।

जवाफमा ब्याटिङ गरेको अस्ट्रेलियाले नियमित अन्तरमा विकेट गुमाउँदै गएर पराजय बेहो–यो । आरोन फिन्चले ५३ बलमा ६२ रन बनाए भने स्टोइनिसले ५६ र मिचेल मार्शले ५५ रन बनाए । 

इंग्ल्यान्डका लागि मार्क वूड, क्रिस वोक्स र अब्दुल रशिदले दुई दुई विकेट लिए ।

शतक प्रहार गरेका जोस बट्लर म्यान अफ द म्याच भए ।

चौथो एकदिवसीय एडलेडमा शुक्रवार खेलिनेछ । 

टेस्ट शृंखला गुमाएर हतास भएको इंग्ल्यान्डका लागि एकदिवसीय शृंखला जीतले नैतिक बल दिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्