
काठमाडौँ, ७ माघ - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।
आज अपराह्न भएको अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको समेत बताइएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका थिए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका थिए ।