
सुर्खेत, ७ माघ - प्रदेश नं ६ का प्रदेशसभाका ४० सदस्यले आइतबार शपथ ग्रहण गरेका छन् ।
वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ः३० बजे शपथग्रहण भएको हो । प्रदेश नं ६ का ज्येष्ठ प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेशप्रमुख दुर्गाकेशर खनालबाट शपथ ग्रहण गरेपछि अन्य ३९ सदस्यलाई शपथ गराइएको थियो ।
नेपाली काँग्रेस दैलेखबाट समानुपातिक सांसद बन्नुभएका शाहीले शपथ खाएपछि अन्य ३९ जना सांसदलाई शपथ खुवाउनुभएको हो ।
प्रदेश सांसदलाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख खनालले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै विकासका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । “आजदेखि यो मुलुक नयाँ युगमा प्रवेश गरेको अभूतपूर्व दिन हो”– प्रमुख खनालले भन्नुभयो, “नयाँ युगमा प्रवेश गरेसँगै यहाँका सम्भावना र चुनौतीलाई सामना गर्नुपर्नेछ ।”
सबै एकजुट भएर आइपरेका चुनौती सामना गर्ने जिम्मा आफूहरुको काँधमा आएको उहाँको भनाइ थियो । “हामी एकजुट भएर विकासको रथ अगाडि बढाउँछौँ”–उहाँले भन्नुभयो, “सुनौलो युगको परिकल्पनालाई साकार पार्न हामी कटिबद्ध भएर लाग्नेछौँ ।”
बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम आवश्यक तयारीको अभावमा केही समय ढिला हुन गएको हो । शपथ ग्रहणका लागि काठमाडाँैमा रहेका सांसदहरुको शनिबारको उडान रोकिएपछि उहाँहरु आज बिहान ९ बजे वीरेन्द्रनगर आएका थिए । सासंदहरु सेनाको हेलिकोप्टरबाट शपथग्रहण कार्यक्रमका लागि वीरेन्द्रनगर आएका थिए ।
शनिबार उडान हुन नसकेपछि आइतबार प्रदेश प्रमुख खनालसहित २७ जना प्रदेश सदस्य सेनाको हेलिकोप्टरबाट आइतबार बिहान मात्रै शपथ लिन सुर्खेत आइपुग्नुभएको थियो ।