
काठमाडौं, १२ पुस – चलचित्र छक्का–पञ्जा पाइरेसीको आरोप लागेका एक युवाले आत्महत्या गरेपछि यो घटना नेपाली चलचित्र वृतमा मात्र चासोको विषय बनेन ।
सामाजिक सञ्जालमा कलाकार दीपकराज गिरीले धम्की दिएका कारण कृष्ण सुवेदीले आत्महत्या गरेको भन्ने समाचार आएपछि दीपकराज गिरी विवादमा समेत मुछिए ।
नेपालमा गैरकानूनी ढंगले अरुको बौद्धिक सम्पत्ति चोरी गर्न नपाइने भएपनि चलचित्र पाइरेसी भएका घटना बारंबार दोहोरि रहेका छन् । यसरी चलचित्र पाइरेसी लाखौं रुपैया नोक्सान हुने गरेको चलचित्र निर्माताहरु बताउँछन् ।
नेपालमा चलचित्रको बजार सीमित छ । नेपाली चलचित्रप्रति दर्शकको संकुचित दृष्टिकोण त आफ्नो ठाउँमा छँदैछ । राम्रा चलचित्रले समेत आम दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका हुँदैनन् । पूर्ण व्यबसायिक बनिनसकेको नेपाली चलचित्र क्षेत्रलाई बेलाबेलामा हुने पाइरेसीका घटनाले धक्का दिने चलचित्र निमार्ताहरु बताउछन् ।
दर्शकले रुचाएको चलचित्र पशुपतिप्रसाद पाइरेसी हुँदा झण्डै ३० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको अभिनेता खगेन्द्र लामिछाने बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि चलचित्र पाइरेसी हुनु दुखद् पक्ष हो । पाइरेसी भएको चलचित्र सकभर नहेर्नका लागि म आग्रह गर्छु ।’
त्यस्तै अर्को चलचित्र ‘बाटोमुनिको फूल’ पाइरेसी हुँदाको हालत पनि उस्तै छ । अभिनेता यशकुमारले उक्त चलचित्र आफैले ऋण खोजेर बनाएको बताउँछन् । चलचित्र पाइरेसी हुँदा लगानी पनि उठ्न नसकेको यश कुमारको गुनासो छ । चार जना निर्माताले सहकार्यमा बनाएको चलचित्र बाटोमुनिको फूल पाइरेसी हुँदा निर्माण पक्षलाई एक करोड घाटा बेहोर्नु परेको अभिनेता तथा निर्माता यश कुमार बताउँछन् ।
‘बाटोमुनिको फूल पाइरेसी हुँदा कुनै कानून पनि थिएन । बरु अहिले कानून बनेको छ ।’ यशकुमार थप्छन्, ‘अहिले मान्छेले फिल्म चोर्दा कानून लाग्छ भन्ने कुरा बुझेका छन् ।’
आफ्ना तीनै चलचित्र पाइरेसीको मारमा परेका अभिनेता दीपकराज गिरी अझै पनि नेपालमा ‘साइबर क्राइम’ सम्बन्धी गतिलो कानून बन्न नसकेको बताउँछन् । चलचित्र ‘६ एकान ६’ पाइरेसी भएपनि आफूलाई घाटा नभएको तर ‘वडा नम्बर ६’ पाइरेसी हुँदा १० लाख घाटा भएको गिरी बताउँछन् । ‘अहिले छक्का पञ्जा पाइरेसी हुँदा समेत हामी निर्माण पक्षलाई १० लाखको हाराहारीमा घाटा लाग्यो । हामीले छक्का पञ्जा बेचिसकेको हुनाले हाइलाइट्स नेपालले बढी घाटा बेहोर्नुुप¥यो ।’ गिरी बताउँछन् ।
नेपाली चलचित्र पाइरेसी हुने क्रम नयाँ भने होइन । चलचित्र ड्रिम्स पनि पाइरेसी भएको थियो । जसबापत ड्रिम्स निर्माण पक्षले २५ लाख रुपैयाँ पाएको थियो । चर्चामा आएका प्राय चलचित्र कुनै न कुनै माध्यमबाट पाइरेसी भइरहनुमा नेपालको कानून कडा नहुनु नै हो भन्ने यस क्षेत्रका सरोकारवाला बताउछन् ।
यसै त सानो बजार भएकाले नेपाली चलचित्र धेरै ठूलो लगानीमा निर्माण हुँदैनन् । त्यसैमाथि कतिपय चलचित्र पाइरेसी हुँदा निर्माता तथा वितरकलाई ठूलो नोक्सान हुने गर्छ । कतियय समीक्षकले नेपालमा फितलो कानुन हुनु नै बेलाबेलामा पाइरेसीका घटना दोहोरिने कारण हो भन्छन् ।
नेपाली इन्टरनेटको पहुँचसँग नजिकिए पनि साइबर अपराधका बारेमा अनविज्ञ छन् । चलचित्रलाई अनाधिकृत रुपमा इन्टरनेटमा अपलोड गर्दा कानूनको फन्दामा परिन्छ भन्ने धेरैलाई जानकारी नहुँदा पनि बेलाबेलामा पाइरेसीका घटना दोहोरिरहने गरेको कलाकारहरु बताउँछन् ।
अहिले आम जनतामा चलचित्र पाइरेसी हुनु भन्ने छाप बसिसकेको र चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाले कडा कानूनका लागि पहल समेत गरिरहेकाले पछिल्लो अब पाइरेसीका घटना दोहोरिँदैनन् कि भन्ने आशा गर्न सकिन्छ ।
अधिवक्ता विरेन्द्र खड्का भन्छन्, ‘कपीराइट ऐन २०५९ को दफा २५ मा २५ हजारदेखि १ लाख तिराउन सकिन्छ । त्यस्तै सोही ऐनको धारा २७ र २८ बमोजिम साइबर अपराध अन्र्तगत पनि कारवाही गर्न सकिन्छ ।’