
काठमाडौं, ८ माघ– सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शपथ खुवाएपछि जेष्ठ सदस्यले अन्य सदस्यहरुलाई शपथ गराएका हुन् ।
सरकारले तोकेका प्रदेशका अस्थायी मुकममा शपथ भएको हो । शपथ ग्रहण बिहान ११ बजेबाट शुरु गर्ने भनिएपनि केही ठाउँमा ढिलो गरी भएको थियो । प्रदेश नम्बर २ प्रदेशका १ सय ७ जना सदस्यहरुले फरकफरक भाषामा शपथ लिएका छन् ।
प्रदेश नम्बर ४ का सदस्य मध्ये रामबहादुर गुरुङ शपथ लिनबाट छुटे भने दीपक मनाङे अनुपस्थित रहे । प्रदेश नम्बर ६ र ७ मा ढिलो गरी शपथ भएको थियो । प्रदेश नम्बर ७ का ५३ जना सदस्य मध्ये ५१ जनाले शपथ लिएक छन् ।
एकता संयोजन समिति बैठक– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको समितिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्नेसमेत सहमति गरेको छ ।
एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा नेता गिरिराजमणि पोखरेल, भीमबहादुर रावल, वर्षमान पुन, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहेको सात सदस्यीय कार्यदल गठन गरिएको छ । त्यसैगरी दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पु¥याएर वैचारिक र सांगठनिक कार्यदल बनाउने निर्णयसमेत भएको छ ।
कर्मचारी खटिए– सरकारले सातवटै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा ९१ जना कर्मचारी खटाएको छ । एउटा प्रदेश प्रमुख कार्यालयमा सचिवदेखि सवारी चालक गरेर १३ जनाको दरले कर्मचारी खटाएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
एउटा प्रदेशमा १ जना सचिव, २ जना उपसचिव, २ शाखा अधिकृत, २ जना नायव सुब्बा, १ जना कम्प्युटर अपरेटर र २ जना हल्का सवारी चालक र ३ जना कार्यलय सहयोगी रहनेछन् ।
मतदाता नामावली– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार यही माघ २४ गते बुधबार हुने निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको हो ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकमा स्थानीय तहका प्रतिनिधिलाई मतभार १८ प्रतिशत र प्रदेशसभाका सांसदलाई मतभार ४८ प्रतिशत दिइएको छ ।
दलको आयव्यय विवरण– निर्वाचन आयोगमा एकसय बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् । साउनदेखि अहिलेसम्म आव २०७३÷७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएका हुने ।
एमाले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत दलले आयव्यय विवरण बुझाएका छन् ।
ओलीलाई मोदीको फोन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ओलीलाई मोदीले आइतबार टेलिफोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
फोन वार्तामा मोदीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएको र ओलीले मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
हत्यारा पक्राउ– रुपन्देहीको देवदहका काठ व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी सुनवल–७ अस्नैया बस्ने ३६ वर्षीय पदम चौधरी र नवलपरासी डुमराहा–५ बस्ने ३६ वर्षीय महेन्द्र भनिने महिनारायण चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरी सार्वजनिक गरेको हो ।
यसैबीच, रुपन्देहीमा प्रहरीले १० किलो अवैध लागु औषध चरेससहित रोल्पाको साविक राङकोट –७ रानीकोटका भागिलाल घर्ति र रोल्पा कै साविक तालावाङ –१ आरोबाका चन्द्रबहादुर घर्तीलाई पक्राउ गरेको छ ।
पैसा जम्मा गर्ने सुविधा– नेपाल राष्ट्र बैंकले अबेदेखि जुनसुकै बैंकबाट आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर आफ्नो बैंक खातामा जम्मा हुने गरी नगद राख्न पाउने व्यवस्था गरेको हो ।
अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् ।
सर्वोच्चको आदेश– सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो ।
यता रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले बुझाएको प्रतिवेदनमा रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ ।
खेल खबर– इटहरीको क्षेत्रीय रंगशालामा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा आइतबार भएको दोस्रो क्वाटर फाईनल खेलमा झापा ११ झापालाई हराउँदै मनाङ्ग मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । झापा ११ लाई ३–४ गोल अन्तरले हराउँदै मनाङ्ग मस्र्याङ्दीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
मंगलबारको खेल त्रिभुवन आर्मी क्लब काठमाडौ र डुक युनाइटेड एफसी भुटानबीच हुने छ ।