
धनकुटा, ८ माघ– प्रदेश राजधानी माग गर्दै शुरु भएको आन्दोलन धनकुटामा जारी छ भने स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पनि अझै हटेको छैन । निषेधाज्ञा र आमहड्तालका कारण जनजीवन थप कष्टकर बनेको छ ।
प्रदेश राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणले सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि आन्दोलन थप चर्काएका हुन् । आन्दोलनकारी तोडफोड तथा आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले गत बिहिबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
जिल्लामा यातायातका साधन, बजार पसल तथा कलकारखाना ठप्प छन् । जसका कारण अत्यावश्यकीय सामानको अभाव हुन थालेको छ । धनकुटा हुँदै तेह्रथुम, भोजपुर, संखुवासभा लगायत जिल्लाका भित्री सडक मार्गमा समेत यातायात नियमित बन्न सकेको छैन ।
प्रदर्शकारी आज टाउको र हातमा कालोपट्टी बाँधेर सडकमा उत्रिएका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञा नहटाएसम्म आमहड्ताल कायमै रहने आन्दोलन परिचालन समितिले जनाएको छ ।