
काठमाडौं, ८ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)लाई ३ लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले असई रेशम खड्कालाई ३ लाख घुससहित काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा लेनदेन विवादका विषयमा कागज बनाइदिएवापत ३ लाख घुस लिएका थिए ।
अख्तियार स्रोतका अनुसार असई खड्कालाई सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको हो ।
लेनदेनको विवादमा १ करोड ३० लाख रुपैयाँको कागज बनाइदिएवापत खड्काले ३ लाख रुपैयाँ रकम मागेका हुन् । आफूलाई ३ लाख रुपैयाँ दिए मात्रै लेनदेन विवादका सम्बन्धमा बनाएको कागज फिर्ता गर्ने भन्दै खड्काले सेवाग्राहीसँग ‘ब्ल्याकमेलिङ’ गर्दै आएका थिए ।
त्यसपछि पीडित भनिएका सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।