काठमाडौं, ८ माघ — जापानको राजधानी टोकियोमा दोस्रो विश्वयुद्धपछि सोमवार पहिलोपटक आक्रमणका बेलामा मानिसहरूलाई बाहिर निकाल्ने सैन्य अभ्यास गरिएको छ । अभ्यासमा सयौं मानिसले भाग लिएका थिए ।
उत्तर कोरियाको आणविक कार्यक्रमका कारण भएको तनावका बीच यो अभ्यास गरिएको हो ।
अभ्यासका बेलामा टोकियोको एक पार्कमा लाउडस्पीकरमा भनियो, ‘क्षेप्यास्त्र प्रहार गरिएको जानकारी हामीले पाएका छौं । कृपया शान्तिपूर्वक बाहिर निस्कनुस् वा भूमिगत हुनुस् ।’
यसको केही समयपछि अर्को सन्देश जारी गरियो, ‘क्षेप्यास्त्र अन्तै गयो । यो कान्तो क्षेत्र हुँदै प्रशान्त महासागतरतर्फ गयो ।’
जापानमा भूकम्पको खतरा भएको क्षेत्रमा मानिसहरूले यस्तो अभ्यास गरिरहेका हुन्छन् । विद्यालय, कार्यालय, संरक्षण गृह र शहरका लगभग सबै ठाउँमा प्राकृतिक विपत्ति र आगलागीबाट बच्ने अभ्यासहरू गरिन्छन् ।
अहिले चाहिँ टोकियोमा उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारको जोखिमका कारण यो अभ्यास गरिएको हो । अघिल्लो वर्ष जापानका अन्य भागमा यस्ता अभ्यास गरिएका थिए ।
एजेन्सी