
पोखरा, ९ माघ– सहारा क्लव पोखराको आयोजनामा आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि पोखरामा शुरु हुँदैछ । पोखरा रंगशालामा माघ २० गतेसम्म सञ्चालन हुने १६ औं संस्करणको आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम स्पोर्टिङ क्लव धनगढी भिड्दैछन् । दिउँसो १ः३० बजेपछि खेल हुने छ । आयोजक सहारा क्लवले सोमबार साँझ खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा सहारा र सुदूरपश्चिम प्रतिस्पर्धामा उत्रिने जनाएको हो ।
खेल तालिका अनुसार पहिलो चरणको खेल अन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लवबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिस्पर्धामा उत्रिने छन्।
प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिस्पर्धा गर्ने क्लवले जनाएको छ ।
प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी वलको एपिएफ क्लब, ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रीस्टार, संकटा क्लब, मोफसलका रमपम झापा ११ फुटवल क्लब, धरान फुटवल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी, विदेशी टिम उत्तर बरिन्धरा क्लब बंगलादेश, युनाइटेड सिक्किम फुटवल क्लब भारत र आयोजक सहारा क्लवले प्रतिष्पर्धा गर्ने आयोजक सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।