
काठमाडौं, ९ माघ– नेपाल आयल निगमले इन्धन भण्डारणका लागि भन्दै देशका विभिन्न भागमा खरिद गरेको जग्गामा भएको अनियमिततामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको आर्थिक चलखेलको अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो । अख्तियारले जग्गा खरिद प्रकरणमा जोडिएका करिब ३ सय जनाको बयान लिएको छ ।
अख्तियार स्रोतका अनुसार जग्गा खरिद प्रकरणमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालीन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएको छ ।
आयोगले आयल निगमका १६ जना कर्मचारीसँग पनि बयान लिइसकेको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अख्तियारले बयानका लागि बोलाएको बताए ।
‘जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको होला,’ निगम प्रवक्ता गोइतले लोकान्तरसँग भने, ‘वयानका लागि हामीलाई बोलाइएको थियो । हामीले गएर बयान दियौं ।’ गोइतले अख्तियारमा आफूले पनि बयान दिएको बताए ।
गोपाल खड्काको बयान शुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवारदेखि आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बयान लिन शुरु गरेको छ । खड्काकै संलग्नतामा जग्गा खरिदमा करिब १ अर्ब रुपैयाँ बराबरको घोटाला भएको आरोप लाग्दै आएको छ ।
खड्का मंगलवार बिहान १० बजे नै बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भएका थिए ।
खड्काको बयान सकिएपछि आयल निगमको सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुसँग बयान लिइने अख्तियार स्रोतले जनाएको छ ।
१ अर्बभन्दा बढी अनियमितता !
तत्कालीन व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले प्रतिवेदन सार्वजनिक गरी आयल निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीको भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको बताएको थियो । जग्गाको जायज मूल्यभन्दा चार गुण बढी मूल्य तिरेर १ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको संसदीय समितिको ठहर थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो अनुसन्धानबाट उक्त प्रकरणमा १ अर्ब भन्दा बढी अनियमितता भएको तथ्य फेला पारेको छ । अख्तियार स्रोतका अनुसार आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको विषयमा ‘पोख्त प्रमाण’ फेला परेका छन् ।
‘आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो घोटाला भएको छ भन्ने प्रमाण फेला परेका छन्,’ अख्तियार स्रोतले लोकान्तरसँग भन्यो ।
अनुसन्धान अन्तिम चरणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ । अख्तियार स्रोतका घोटाला भएको प्रमाण फेला परिसकेका छन् ।
अब आयल निमगका कार्यकारी निर्देशक गोपाल खड्का र सञ्चालक समितिका सदस्य तथा पदाधिकारीसँग बयान लिने काम मात्रै बाँकी छ । त्यो पनि करिब १ सातामा सकिने स्रोतको दावी छ ।
त्यसपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार स्रोतले लोकान्तरलाई बतायो ।