
काठमाडौं, १० माघ — हलिउडको सुप्रसिद्ध अस्कर पुरस्कारको ९०औं संस्करणको अन्तिम नामावली मंगलवार सार्वजनिक भएको छ । क्यालिफोर्नियाको स्यामुअल गोल्डवीन थिएटरमा यसको घोषणा भएको हो ।
एकेडमी अध्यक्ष जोन बेलीले टिफनी ह्याड्डिश र एन्डी सर्किससँग मिलेर २४ वटा विधाका प्रतिस्पर्धीको नाम सार्वजनिक गरे ।
गिलेर्मो देल तोरोको फिल्म द शेप अफ वाटर १३ विधामा मनोनित भएको छ । उक्त फिल्मलाई मार्टिन मक्दोनाको थ्री बिलबोर्ड्स आउटसाड एब्बिङ, मिसौरीले नौ विधाको मनोनयनका साथ पछ्याएको छ ।
क्रिस्टोफर नोलानको डनकर्क आठवटा विधामा मनोनित भएको छ । यी तीनैवटा फिल्म सर्वोत्कृष्ट फिल्मको क्याटेगोरीमा मनोनित भएका छन् ।
अस्कर अवार्ड फागुन २१ गते वितरण गरिनेछ । अवार्ड समारोहलाई जिम्मी किम्मेलले सञ्चालन गर्नेछन् ।
एजेन्सी