
काठमाडौं, १० माघ –माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्णरूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
सातवटै प्रदेशमा गरी विभिन्न नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ गरी कुल ८३ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आज दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिनका लागि माघ ११ गते बिहान १० देखि १२ गते दिनको ५ बजेसम्मका लागि समय तोकिएको छ ।
मनोनयनपत्र र उजुरी उपर जाँजबुझ गरी निर्णय गर्न माघ १३ र १४ गते, उम्मेदवारले नाम फिर्ता लिन माघ १४ गते २ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने आठ जना सदस्य निर्वाचित हुनेछन् ।
जसमा महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना, अन्य तीन जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।