०५ साउन २०८३, मंगलबार

पद्मावत समीक्षा : भव्य कलाकारिता, पूर्ण मनोरञ्जन

पद्मावत समीक्षा : भव्य कलाकारिता, पूर्ण मनोरञ्जन

सबै कुरा इच्छामा आधारित छ । फिल्मको आरम्भमा खिलजीको यो संवादले पद्मावतको सार प्रस्तुत गर्छ । संसारको हर अद्वितीय कुरामा आफ्नो नियन्त्रण हुनुपर्ने इच्छा राख्ने अलाउद्दीन खिलजी रानी पद्मावतीको एक झलक पाउनका लागि तड्पिरहेको छ । पूरा फिल्म नै खिलजीको सनक, बहादुरी, इच्छा, यौनिकता र जुनूनमा आधारित छ । 

चित्तौडका राजपूत राजाले खिलजीलाई घुँडा टेक्न बाध्य पारेपनि खिलजीले छलछाम गरेर राज्य हडप्न सफल त हुन्छ तर समझदारी, कूटनीति तथा बुद्धिमत्ताका साथ रानी पद्मावतीले खिलजीको षड्यन्त्रलाई सफल हुन नदिएको विषय नै फिल्मको केन्द्रीय द्वन्द्व हो । 

सञ्जय लीला भन्सालीले यही कुरालाई पद्मावतमा शानदार तरिकाले देखाएका छन् । दर्शकमा प्रभाव जमाउन भन्सालीले यस ऐतिहासिक फिल्ममा कुनै कुरा बाँकी राखेका छैनन् । 

फिल्म हेरेर हलबाहिर निस्केपछि तपाईंको दिमागमा दुईवटा कुरा खेल्नेछन् ः पहिलो त खिलजीका रूपमा रणवीर सिंहको शानदार भूमिका अनि दोस्रो, यो फिल्ममा विवाद गरिरहनुपर्ने त्यस्तो के थियो र ? 

फिल्मको हरेक दृश्यमा शिरदेखि पाउसम्म ढाकिएकी दीपिका पादुकोणले आफ्नो अनुहारको हाउभाउ र विशेषगरी आँखामार्फत दमदार अभिनय गरेकी छन् । प्रेम र क्रोध लगायतका सबै भावहरू उनका ठूला आँखामा अनुभव गर्न सकिन्छ । सुन्दर लहंगा, भारी गहना र विशेषगरी नाकको नथनीमा दीपिका जमेकी छन् । 

शाहिद कपूरले महारावल रतन सिंहको भूमिकालाई न्याय गरेका छन् । उनी शुरुदेखि अन्तिमसम्म शालीन रूपमा देखिएका छन् । 

तर रणवीर सिंह फिल्ममा छाएका छन् । उनले एक सनकी, विलासी, व्यभिचारी र कुण्ठित मानसिकता भएको व्यक्तिको भूमिका इमान्दारीका साथ निर्वाह गरेका छन् । उनमा ऊर्जा भरपूर देखिन्छ । उनले बोलेका कैयौं संवादहरू हलबाट बाहिर निस्केपछि पनि याद रहन्छन् । खिलजीको क्रूरता उनले राम्ररी देखाएका छन् । 

खिलजीका परिचर मलिक काफूरका रूपमा जिम सर्भले शानदार अभिनय गरेका छन् । उनले खिलजीप्रति देखाएको समलैंगिक प्रेमलाई भन्सालीले कलात्मक रूपमा प्रस्तुत गरेका छन् । 

त्यस्तै खिलजीकी पत्नी मेहरुन्निसाका रूपमा अदिति राव हैदरीको अभिनय पनि प्रशंसायोग्य छ । 

फिल्म अलिक लामो छ तर दर्शकलाई बोर लाग्दैन । आरम्भमा स्वैरकल्पना, रोमान्स र राजस्थानी परम्परागत लोकसंगीतले भरिएको कथा बिस्तारै नाटकीय द्वन्द्वमा प्रवेश गर्छ अनि दर्शकलाई बाँध्न थाल्छ । 

समग्रमा फिल्म सुन्दर छ । तपाईंको आँखा, दिमाग र मुटुलाई फिल्मले छुन्छ । इन्टरनेटमा डाउनलोड कुरेर नबस्नुस्, सिनेमाहलमै गएर यो भव्य फिल्मको आनन्द उठाउनुस् । 

नवभारत टाइम्समा नमिता जोशीले गरेको समीक्षाको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्