
काठमाडौं, ११ माघ — अमेरिकी जासूसी संस्था सीआईएका निर्देशक माइक पम्पियोका अनुसार, उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो वर्चस्व कायम राख्नका लागि आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावना छ ।
उनले भने, ‘सन्काहा किम अमेरिकाविरुद्ध अनेकौं आणविक आक्रमण नगरिकन शान्तिपूर्वक बस्ने छैन ।’
पम्पियोले वाशिङटन डीसीको एक थिंक ट्यांक अमेरिकन इन्टरप्राइजेज इन्स्टिच्युटमा बोलिरहेका थिए ।
उनले भने, ‘हामीहरू किमको असफलताका लागि सबै किसिमका कामहरू गरिरहेका छौं । एक वर्षपछि म भन्न सक्छु, किम आणविक क्षमता हासिल गर्नबाट कोशौं टाढा छन् ।’
पम्पियोको भाषण सुन्दा अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने सम्भावना नरहेको देखिन्छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले प्योङयाङसँगको युद्धबाट बच्नका लागि हरसम्भव प्रयास गरिरहेको पम्पियोले बताए ।
अमेरिकाले उत्तर कोरियाबाट खतरा अनुभव गर्नुपर्दैन किनकि ट्रम्पले देशलाई सुरक्षित राख्न हरेक प्रयास गरिरहेको उनले बताए ।
जनवरीको शुरुतिर अमेरिकाको हवाईमा ब्यालिस्टिक क्षेप्यास्त्रको झुटो चेतावनी दिइएको थियो । त्यतिखेर त्यहाँका मानिस आतंकको छायाँमा बस्न बाध्य भएका थिए ।
एजेन्सी