![स्वयं अष्टलक्ष्मीजीले तपाईँ मुख्यमन्त्री बन्नुपर्छ भनेर ३ पटक भन्नुभएको छ- राजेन्द्र पाण्डे [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Rajendra_Pandey_Banner_ktak3ahnH7.png)
निर्वाचन सम्पन्न भएर प्रदेश सांसदहरुले शपथ पनि लिइसकेको अवस्थामा प्रदेश सरकार निर्माणको कसरत शुरु हुन थालिसकेको छ । मुख्यमन्त्रीका दाबेदारहरु पार्टीभित्र आन्तरिक लबिङ र बाहिर पनि माहोल बनाउन व्यस्त छन् । मुलुकका ७ मध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने अवस्था छ । प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत भए पनि माओवादीसमेतको सहभागितामा सरकार बन्ने सम्भावना प्रवल छ । मुख्यमन्त्रीका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले आफ्नो दाबी पेश गरेका छन् । मुख्यमन्त्रीका दाबेदार पाण्डेसँग लोकान्तरका लागि रामचन्द्र भण्डारीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
तपाईंले प्रदेश ३ को मुख्यमन्त्रीमा दाबी गरिराख्नुभएको छ, तपाईँको दाबीको मुख्य आधार के हो ?
४ पटक केन्द्रीय संसद सदस्य भइसकेको, स्थानीय विकास मन्त्रालय पनि चलाएको अनि प्रतिनिधिसभामा सचेतक, प्रमुख सचेतकको भूमिका निभाएको र संसद सञ्चालन गर्ने अनुभव पनि प्राप्त गरिसकेको नाताले मुख्यमन्त्रीका लागि म सबैभन्दा उपर्युक्त मान्छे हुँ भन्ने लाग्छ ।
पार्टीको आन्तरिक समीकरणका कारण पनि तपाईँको सम्भावना न्यून छ भनिन्छ नि !
यतिबेला हामी नेकपा एमाले र नेकपा माओवादी नै एक ठाउँमा जम्मा हुन खोज्दैछौँ । एउटै पार्टी निर्माण गर्न खोज्दैछौँ । अब आजको अवस्थामा आएर हामीले पहिले क-कसको के गुट थियो भनेर खोजेर सम्भव होला त ? यो त सम्भव हुँदैन ।
केन्द्रमा पनि हामी २ वटा पार्टी मिलेर शानदार बहुमत प्राप्त गरेका छौँ । यस्तो अवस्थामा ५ वर्षसम्म स्थीर सरकार दिन केन्द्रमा पनि सक्छौँ र यो ३ नम्बर प्रदेशमा पनि सक्छौँ । स्थीर सरकार दिएर जनतालाई योग्यतम ढंगले काम गर्दै सेवा गर्ने, सुविधा दिने र विकासको काम गर्ने अवसर हामीलाई प्राप्त छ ।
यस्तो अवस्थामा अनुभव भएको व्यक्तिलाई मुख्यमन्त्री बनाउँदा सबैभन्दा बढी लाभ त नेपाली जनताले पाउँछन् । पार्टीको इज्जत बढ्छ । पार्टीलाई जनताले धन्यवाद दिन्छन् । त्यसैले पनि मेरो योग्यता क्षमतालाई यतिबेला राष्ट्रले प्रयोग गर्नुपर्छ भन्ने लाग्छ ।
मुख्यमन्त्रीको रुपमा जसको चर्चा भइरहेको छ, उहाँ पार्टीभित्र पनि सर्वमान्य नै हुनुहुन्छ, स्वयम् तपाईँले पनि त्यो कुरा नमान्ने अवस्था छैन भनिन्छ नि !
दलहरुले मुख्यमन्त्रीका लागि दलको नेता छान्ने हो । यस्तो अवस्थामा मैले फलानो ठीक छैन, फलानोले चलाउन सक्दैन भनेर व्यक्तिगत रुपमा कसैको बारेमा टिका-टिप्पणी गर्न चाहन्न । म मुख्यमन्त्रीका लागि योग्य छु, त्यसैले संसदीय दलको चुनाव हुँदा म दलको नेताका लागि उठ्छु । त्यही हो ।
पार्टीको आन्तरिक बैठक तथा शीर्ष नेताहरुसँग यसबारे तपाईँको कुराकानी भएको छ ?
सबै नेताहरुसँग कुरा भएको छ । अध्यक्षसहित स्थायी कमिटीका पनि बहुमतभन्दा बढी नेताहरुसँग मेरो कुराकानी भा'छ । सबैले तँ योग्य मान्छे होस्, मुख्यमन्त्री चलाउनका लागि सबैभन्दा योग्य मान्छे तैँ होस् भनेर भन्नु'भाछ मलाई । स्वयम् अष्टलक्ष्मीजी, मुख्यमन्त्रीका रुपमा उहाँको नाम पनि चर्चामा छ, उहाँले मलाई मुख्यमन्त्री बन्नका लागि तपाईँ प्रदेशसभामा जानुपर्छ भनेर ३ पटक भन्नुभएको हो ।
प्रदेश ३ मा एमालेको एकल बहुमत छ, तर पनि माओवादीसहितको सरकार बन्ने चर्चा हुँदैछ, माओवादी नेताहरु के भन्छन् तपाईँका बारे ?
थोरै कुरा भा'छ । अध्यक्ष प्रचण्डजी निर्वाचित भएर आएपछि उहाँलाई बधाई दिने क्रममा तपाईँ जितेर आउनु'भो, बडो खुशी छौँ हामी, पार्टी एकता गर्ने काममा पनि सफलता मिलोस् भनेर भनेँ । अनि मैले म ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको क्यान्डिडेट पनि हो भन्दा उहाँले ठिक छ, तपाईँ उपर्युक्त मान्छे हो भन्नुभा'छ । उहाँलाई भेट्न जाने मान्छेले पनि त्यही खबर ल्याउनुभा'छ ।
तपाईँ मुख्यमन्त्री बन्नुभयो भने ३ नम्बर प्रदेशले के पाउँछ ?
अहिले हामीसँग कुनै कानून छैन । यो विशुद्ध नयाँ संरचना हो । केन्द्र सरकारबाट धेरै अधिकार प्रदेश सरकारमा ल्याउनुपर्ने छ । त्यो स्वयम् प्रधानमन्त्रीज्यूसँग समन्वय गरेर कति अधिकारहरु अब केन्द्रलाई उपर्युक्त हुँदैन त्यो तपाईँहरुले छाड्नुपर्छ भनेर कन्भिन्स गरेर अधिकार प्रदेशमा ट्रान्सफर गर्ने काममा म मिहेनतपूर्वक लाग्छु । मसँग त्यसको अनुभव छ ।
दोस्रो यो प्रदेशलाई चाहिने कानून निर्माणमा मेरो ध्यान हुनेछ । कानून नभई केही पनि काम गर्न सकिन्न ।
तेस्रो कुरा म सुशासन दिन्छु, जनताका गुनासोलाई एक हप्ताभित्रै सम्बोधन गर्ने सिस्टम बसाल्छु, यो प्रदेशभित्रका विकास निर्माण र अधुरा कुराहरु चाँडोभन्दा चाँडो सम्पन्न गर्ने कुरामा मेरो ध्यान रहन्छ । भूकम्पले क्षत् विक्षत् बनाएको प्रदेश हो यो । एक वर्षभित्र सबै भूकम्पपीडितहरुको घर निर्माण गर्ने कुरामा मेरो पूर्ण ध्यान रहन्छ ।
शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि मेरो ध्यान हुन्छ । प्रदेशस्तरको छुट्टै विश्वविद्यालय, राष्ट्रिय महत्त्वका खेल मैदान र दक्ष जनशक्ति उत्पादन गरेर लाखौँ मान्छेलाई स्वदेशमै रोजगारी दिने कुराहरुमा मेरो ध्यान हुनेछ ।
तपाईँ भन्नुभएका कुराहरु जिल्ला समन्वय समितिजस्तो समन्वयकारी काम गर्ने सिमित अधिकार भएको प्रदेशले कसरी पूरा गर्नसक्छ ?
मैले तपाईँलाई पहिले नै भनिसकेको छु, प्रदेशको कानून छैन, पहिले त हामीले कानून बनाउनुपर्छ । अब केन्द्रले हिजो गरेको झैँ काम गर्ने होइन । केन्द्रले त राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न ध्यान दिने हो । अन्तर्राष्ट्रिय मामिलाहरु, सिमानासम्बन्धी मामिलाहरु, आर्थिक नीति निर्माण गर्ने कुराहरु, पोलिसी निर्माणका कुराहरुमा मात्रै ध्यान दिनुपर्छ ।
अरु सबै काम प्रदेश सरकारको मातहतबाट गर्ने गरी धेरैभन्दा धेरै काम संविधानले दिएकै अधिकार प्रयोग गरेर भए पनि केन्द्र सरकारलाई कन्भिन्स गरी प्रदेशमा ट्रान्सफर गर्छौँ ।
अहिले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी बनाइएको छ, पायक परेन भन्ने कुरा उठेको छ, के भन्नुहुन्छ ?
पायक भएन भन्ने कुराचाहिँ ७ गते शपथ ग्रहण गर्न जाँदा ९० प्रतिशत सांसदले भन्नुभयो । अब प्रदेशसभाले दुई तिहाइ बहुमतले राजधानी तोक्छ । मलाई लाग्छ, पहिलो वा दोस्रो बैठकले नै निर्णय गर्छ ।
कहाँ हुनुपर्छ राजधानी ?
अहिले त्यस्तो कुनै खास धारणमा मैले बनाएको छैन । धेरै साथीहरुको धारणाचाहिँ बनेपा साइडमा लगेर बनायो भने नयाँ शहरको विकास हुन्छ भन्ने खालको कुराहरु पनि छन् । अब संरचनाको लागि धेरै खर्च नगर्ने हो भने अहिलेको सानोठिमीमा भइरहेको शिक्षाका कार्यालयहरुमा राखेर सञ्चालन गरियो भने अर्बौँ रुपैयाँ बच्छ भन्ने कुरा पनि छ ।
तपाईँ धादिङबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, तपाईँका मतदाताको पनि केही अपेक्षा होला नि त यस विषयमा ?
धादिङमै माग गरियो भने पनि त्यो अव्यवहारिक नै हुन्छ, जसरी हेटौँडा अव्यवहारिक भयो, त्यस्तै हुन्छ ।
अन्त्यमा अर्को एउटा प्रश्न: मेडिकल शिक्षासँग जोडेर तपाईँको आलोचना पनि हुने गरेको छ नि !
ग्यालिलियोले पृथ्वी गोलो छ भन्दा ग्यालिलियोलाई मार्या थिए रे ! मैले पनि यो देशमै पढाउनुपर्छ, यो देशमै डाक्टरहरु उत्पादन गर्नुपर्छ, राम्रो अस्पताल यहीँ चलाउनुपर्छ, नेपालको पैसा बाहिर जान दिनुहुँदैन, नेपाललाई धनी बनाउने हो भने यही देशमा गर्नुपर्छ, योग्य दक्ष जनशक्ति यही देशमा उत्पादन गर्नुपर्छ भन्दा मलाई गाली गर्ने मान्छेहरु छन् भने तिनलाई तपाईँको मिडियाबाट पनि धन्यवाद नै दिनुस् अब । अहिलेलाई केही गर्नु त तिनलाई !