
हिमालयपारिको तिब्बत सुन्दर र रहस्यमय छ । त्यहाँको हरियाली, घाम, बर्खा र धार्मिक स्थलहरूले पर्यटकलाई आकर्षण गराउँछन् । तिब्बतमा घुम्ने ठाउँ यी हुन् ।

पोताला दरबार
तिब्बतको राजधानी ल्हासाको रातो पहाडमा अवस्थित पोताला दरबारको निर्माण सम्राट् स्रोङचोन गम्पोले सातौं शताब्दीमा गराएका हुन् । यो दरबारमा दुईवटा भवन छन् । सेतो दरबार प्रशासनिक भवन हो भने रातो दरबार धार्मिक भवन हो । यहाँका सबै स्तूपहरू सुनको पत्रले मोरिएका छन् ।

जोखाङ मन्दिर
यो मन्दिर तिब्बतीहरूको आस्थाको केन्द्र हो । यहाँको मठमा विभिन्न भवनबाट उड्ने धूवाँ, मठको चम्किलो गजुर र घिउको सुगन्धले पर्यटकलाई आकर्षित गर्छ ।

बरखोर सडक
घुम्नुका साथसाथै शपिङ गर्ने शोख भएकाहरूलाई ल्हासास्थित बरखोर सडक उपयुक्त ठाउँ हो । यहाँ हस्तकलाका धेरैथरी सामानहरू पाइन्छन् ।

तिब्बत संग्रहालय
नोर्बुलिंकाको दक्षिणपूर्वमा रहेको तिब्बत संग्रहालय त्यहाँको पहिलो आधुनिक संग्रहालय हो । त्यहाँ शाही मुद्रा, विभिन्न योद्धाहरूले दिएका उपहारका साथसाथै संस्कृत र तिब्बती भाषाका साहित्यहरू उपलब्ध छन् । त्यहाँ तपाईं तिब्बतीहरूको लोकशैलीसँग पनि परिचित हुन सक्नुहुनेछ ।
एजेन्सी