
काठमाडौं, १७ पुस– फूलचोकीमा हाइकिङ जाँदा सात दिनदेखि हराएका जोन तामाङ भेटिएका छन् । उनी फूलचोकीको जंगलमा फेला परेका हुन् ।
थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए ।
नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको थियो । हुलियाका आधारमा तामाङ जस्तै व्यक्ति भेटिएको सूचनाका आधारमा अभिभावक संगठन, प्याब्सन र आफन्तले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए ।
पत्रकार प्रकृति अधिकारीले जोन भेटिएको खुसी सामाजिक संजालमार्फत व्यक्त गरेका छन् ।
उनका अनुसार रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुगेको थियो । त्यहाँबाट तल गर्ने क्रममा रामकाजी तिवारी र चन्द्र आलेले जोनलाई फेला पारेको हो ।
प्रकृतिका अनुसार फूलचोकीको टुप्पामा पुगेर तलतिर झर्ने क्रममा तिवारी र आलेले जोनलाई करिव दुई हजार मिटरको उचाइमा फेला परेका हुन् ।

‘सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ’, तिवारीलाई उदृत गर्दै प्रकृतिले फेसबुकमा लेखेका छन्, ‘ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ । शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ । अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौँ ।’
त्यहाँ लडेको मानिस र फोटोमा देखिएको जोनको हुलिया मिलेपछि जोन भनि एकिङ गर्न सकिएको भन्दै तिवारीले भनेका छन्, ‘त्यसपछि जोन भनेर करायौँ । उ फर्कियो । हामी त्यहाँ पुगेपछि बच्चा रोयो । हल्का पानी खुवायौँ । बोतलभरिको पानी सबै खाइसक्ला जस्तो गर्यो । झाडीभित्र थियो । झाडी फाडफुड गर्यौँ । बाटो एकदमै गाह्रो थियो । हामीसँग एक पुडिया बिस्कुट थियो । सबै खाँदा गाह्रो होला भनेर आधा दियौँ ।’
सुरुमा जोन रोएका थिए भने बोलाउँदा टाउको हल्लाएका थिए । जोन भेटिएको स्थान वरपर बाघको पाइला देखिन्थे भने र बँदेलले समेत खनेका ठाउँहरु रहेको बताइएको छ ।
घटनास्थल निकै अप्ठ्यारो स्थानमा रहेको छ भने त्यो बाटोमा एक दुई जना मानिसमात्र हिँड्न नसकिने खालको डरलाग्दो रहेको बताइएको छ ।
जोनलाई अहिले बीएण्डबी अस्पतालमा उपचारका लागि पठाइएको महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले जानकारी दिएका छन् ।
तस्बिर : प्रकृति अधिकारीको फेसबुकबाट