
काठमाडौं, १८ माघ– भारतीय विदेशमन्त्री सुषमा स्वराज २ दिने नेपाल भ्रमणका लागि आज अपराह्न नेपाल आउँदैछिन् । वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी उनको साथमा नवनियुक्त विदेश सचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् ।
कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो । वाम गठबन्धन सरकार गठनको पूर्वसन्ध्यामा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।
दुईदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेसकेन्द्रित दलका नेतासँग छलफल गर्ने बताइएको छ ।
श्रोतकाअनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासँग भोलि भेटवार्ता हुनेछ भने अन्यसँग आजै छलफल हुने बताइएको छ । शुक्रबार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछिन् । शुक्रबार अपराह्न चार बजे उनी स्वदेश फर्किने छिन् ।