२३ असार २०८३, मंगलबार

प्रवासी नेपालीको स्वस्थानी ब्रत : शुक्रवार साङ्गे हुने

प्रवासी नेपालीको स्वस्थानी ब्रत : शुक्रवार साङ्गे हुने
स्वस्थानी व्रतको साङ्गेका लागि इजरायल पुगेका गुरुवाआचार्य बिष्णुप्रसाद ज्ञवालीलाई इजरायलमा स्वागत गर्दै उपाध्यक्ष सापकोटा लगायत ।

इजरायल, १८ माघ–  हिन्दु नेपाली महिलाले कठीन ब्रत बसेर भगवान शिवको पूजा आराधना गरी मनाउने स्वस्थानी ब्रत इजरायलमा शुक्रवार समापन हुने भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको ब्रत तिथिअनुसार बुधवार नै समापन भइसके पनि इजरायलमा रहेका नेपालीले भने भोलि समापन (साङ्गे) गर्न लागेका हुन् । 

स्वस्थानी व्रत साङ्गेका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक ओम जनजागरण अभियान इजरायलले जनाएको छ । 

धार्मिक परम्पराअनुसार स्वस्थानी व्रतको हिजो बुधबार समापन हुने तिथि रहेको भएपनि परदेशीभूमिमा बिविध कारणले दुई दिन ढिलो गरी स्वस्थानी व्रतको साङ्गे गर्न लागेको ओम जनजागरण अभियान इजरायलकी सचिव दीया चापागाईंले बताइन् । 

शुक्रवार साँझ साढे ६ः०० बजे इजरायलको तेलअभिवमा विशेष पूजाआजा र प्रसादग्रहण सहित भब्यरुपमा स्वस्थानी व्रतको साङ्गे गरिने छ । स्वस्थानी व्रतको साङ्गेका लागि नेपालबाट ख्यातिप्राप्त भागवत वाचक तथा राष्ट्रिय धर्मानुष्ठान विभाग (विश्वहिन्दू परिषद नेपाल) प्रमुख गुरुवाआचार्य बिष्णुप्रसाद ज्ञवाली बुधबार इजरायल पुगिसकेका ओम जनजागरण अभियान इजरायलका उपाध्यक्ष भक्तिप्रसाद सापकोटाले बताए । 

हिन्दू धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व स्वस्थानी ब्रतकथा तथा महाशिवरात्रीको अवसरमा आयोजना गरिन लागेको सो कार्यक्रममा गुरुवाआचार्य ज्ञवालीले प्रवचन पनि दिने कार्यक्रम रहेकोले इजरायलमा रहेका सम्पूर्ण भक्तालुजन लगायत नेपाली दिदीबहिनी तथा दाजुभाइलार्ई उपस्थित भई आध्यात्मिक लाभका साथै श्री स्वस्थानी माताको प्रसादग्रहण गरिदिन हुन सचिव चापागाईंले आग्रह गरेकी छन् ।

विशेषगरी महिलाहरुले बस्ने स्वस्थानी व्रतमा महिनाभर बसेको व्रतको विसर्जन गरी व्रतालुहरुले माघ स्नान गरी स्वस्थानी माताको प्रसादग्रहण गर्ने धार्मिक परम्परा रहेको यो व्रत पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ र त्यसपछि हरेक बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने, सुनाउने परम्परा रहेको छ । 

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने चलन छ । 

उपाध्यक्ष सापकोटाले कार्यक्रम कसैका बिरुद्ध नभई बैदिक सनातन धर्मको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यका साथ श्री स्वस्थानी ब्रतको साङ्गे तथा महाशिवरात्रीको अवसरमा विशेष पूजाआजा र प्रसादग्रहण कार्यक्रम राखिएको जानकारी दिए ।

उनले पर्सी शनिबार गुरुआचार्य ज्ञवालीसहितको टोलीलाई इजरायलको रमणीयस्थल मृतसागर (डेड सी) का साथै अन्य पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम समेत रहेकोे उपाध्यक्ष सापकोटाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्