
काठमाडौं १८ माघ– प्रदेश नम्बर १ को मुख्यमन्त्रीको उम्मेदवार छान्न मतदानको अबस्था आए नेकपा एमालेको माधवकुमार नेपाल समूहले सचिव भीम आचार्यको सट्टा जीवन घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । मुख्यमन्त्रीका लागि सचिव भीम आचार्य र शेरधन राईले दावी गरेका छन् ।
राइलाई अध्यक्ष केपी ओली लगायत संस्थापन पक्षको समर्थन रहेको बताइन्छ । तर ओलीले प्रदेश नम्बर ५ मा शंकर पोखरेल बाहेक कसैलाई पनि आश्वासन नदिएको बताएका छन् । माधव नेपाल– झलनाथ खनाल समूहबाट मुख्यमन्त्रीको दावी गरेका सचिव आचार्य भने सो समूहको आधिकारीक उम्मेदवार नबन्ने संकेत देखिएको छ ।
मुख्यमन्त्रीको उम्मेदवार बन्न मतदान भएको अबस्थामा आफूले उम्मेदवारी दिने घोषणा घिमिरेले गरेका छन् । गत महाधिवेशनमा नेपाल समूहबाट चुनाव लडेपनि सो समूहले आचार्यलाई समर्थन नगर्ने संकेत दिएको छ । प्रदेश इन्चार्जको हैसियतमा स्थानीय र प्रदेश सभाको टिकट वितरणमा पक्षपात गरेको र आर्थिक कारोबार गरेको रिपोर्ट कोटेश्वर पुगेपछि नेता नेपाल आचार्यको पक्षमा मौन बसेका छन् ।
आचार्य पार्टीको सचिव भएपनि केन्द्रीय सदस्य घिमिरे आचार्यका समकालिन हुन् । ‘हाम्रो तर्फबाट आधिकारीक उम्मेदवार घिमिरे हुनेछन्, आचार्यलाई बोकेर हिड्दैनौ’ माधव नेपाल समूहका एक प्रभावशाली नेताले भने । तर आचार्यले पनि आफ्नो दावी छाडेका छ्रैनन् ।
प्रदेश नम्बर १ को मुख्यमन्त्री एमालेले पाउने सहमति भएपनि उम्मेदवारको बिषयमा पार्टीभित्र सहमति जुटन सकेको छैन । सर्वसम्मती नभएमा मतदानबाट उम्मेदवार छान्ने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ ।
नेपाल समूहको बहुमत, ओली समूहको मुख्यमन्त्री !
प्रदेश नम्बर १ को प्रदेश सभामा माधव नेपाल समूहका सांसदहरुको बहुमत रहेको सो समूहका एक नेताले दाबी गरे ।
संसदीय दलको नेता चयनका लागि चुनाव भएमा नेपाल समूहको उम्मेदवारले यो प्रदेशमा चुनाव जित्ने सम्भावना छ ।
प्रदेश नम्बर ३ मा संस्थापन पक्षको बहुमत छ । चारवटा मुख्यमन्त्री मध्ये एउटामा महिला र समावेशी उम्मेदवार उठाउनु पर्ने भएकोले प्रदेश ३ मा अष्ठलक्ष्मी शाक्यको बलियो सम्भावना छ । तर उम्मेदवारको विषयमा सहमति नभएर चुनाव भएको खण्डमा भने शाक्यपनि समस्यामा पर्न अवस्था छ ।
जातीय सन्तुलनलाई समेत ध्यान दिनुपर्ने भएकोले प्रदेश नम्बर १ मा शेरधनको सम्भावना छ । आआफ्नो समूहको बहुमत भएपनि ‘कम्प्रमाइज’ गर्ने तयारीमा दुवै समूह छन् ।
प्रदेश नम्बर ५ मा शंकर पोखरेल संसदीय दलको नेता चयन भइसकेका छन भने प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङले दावी गरेका छन् ।