
काठमाडौं, २० माघ– सर्वोच्च अदालतले गुणस्तरहीन खाद्यान्न वितरण गर्ने गैरसरकारी संस्थाहरुलाई कालोसूचीमा राख्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । राष्ट्रिय संकट तथा विपत्तिको अवस्थामा सहयोगका नाममा वितरण हुने खाद्यान्न गुणस्तरहीन भएको र यसले नागरिकको मौलिक अधिकार हनन भएको भनी दायर भएको रिट निवेदनमाथिको सुनुवाईपछि सर्वोच्चले गुणस्तरहीन, दूषित, सडे गलेको खाद्यान्न अस्वीकार गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
साथै सर्वोच्चले विपत्ति र संकटको बेलामा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने खाद्यान्न परीक्षण गरेर मात्रै स्वीकार र ग्रहण गर्नसमेत आदेश दिएको छ ।
स्वराजको भ्रमण– भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे ।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरिन् । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा भएको स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
निर्वाचन रोक्न मिल्दैन– राष्ट्रियसभा निर्वाचन तत्काल रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले राष्ट्रियसभा निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश जारी नहुने आदेश सुनाएको हो ।
राष्ट्रियसभाको निर्वाचनमा मुस्लिम समुदायका व्यक्ती समावेश नभएको भन्दै सीमा खानले निर्वाचनका लागि अहिलेसम्म भएका गतिविधि रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
राष्ट्रियसभा निर्वाचनको तयारी– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छपाइ गरेको छ ।
८ प्रकारका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जनाएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित गर्नुपर्ने हुन्छ । २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरुले मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्ने आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री २१ गतेभित्र निर्वाचन केन्द्रमा पुर्याउने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
बलात्कारको अर्को घटना– प्रहरीले काठमाडौंको दरबारमार्गकै जस्तो पूर्वको इटहरीमा पनि बलात्कारको घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको खुलेको छ । कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना सार्वजनिक भएको हो ।
करिब एक महिनासम्म कसैले सुइँकोसम्म नपाएको घटनाबारे जब प्रहरीकै माथिल्लो निकायमा सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो । इलाका प्रहरी कार्यालय, इटहरीको उक्त सन्देहास्पद क्रियाकलापमाथि छानबिन गर्न प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई खटाएपछि घटनाले अर्कै मोड लिएको हो । एसएसपी पालले पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको खुलेको छ । तर, बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठ प्रहरीकै लापरबाहीले फरार भइसकेका छन् । उनीहरूलाई उन्मुक्ति दिने प्रहरीमाथि समेत ‘छानबिन भइरहेको’ भन्दै कुनै कारबाही गरिएको छैन ।
भट्ट मुख्यमन्त्रीमा सिफारिस– नेकपा माओवादी केन्द्रले प्रदेश नं. ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै माओवादीको प्रदेश कार्यालयबाट भट्टको नाम सिफारिस भएको हो ।
प्रदेश नं ७ का संयोजक लक्ष्मणदत्त जोशीले काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए ।
ठकुरीलाई निलम्बन गर्न सिफारिस– प्रहरी परिसर काठमाडौंले महानगरीय वृत्त दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गर्न सिफारिस गरेको छ । इन्स्पेक्टर ठकुरीले दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना दर्ता नगरी गुपचुपमा आर्थिक लेनदेन गरी मिलाउने प्रयास गरेको भन्दै परिसरले प्रहरी प्रधान कार्यालयसमक्ष निलम्बनका लागि सिफारिस गरेको हो ।
सोही मुद्दामा वृत्तका मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई हिजो नै निलम्बन गरिसकेको छ ।
विदेशका खबर– माल्दिभ्सको सर्वोच्च अदालतले जेलमा रहेका राजनीतिक दलका नेताहरूलाई तत्काल रिहा गर्न आदेश दिएको छ । अदालतले निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहम्मद नाशिदविरुद्ध भएको फैसला पनि उल्ट्याइदिएको छ ।
अदालतले पूर्व राष्ट्रपति नाशिदलाई यसअघि सुनाइएको १३ वर्षे जेल सजाय खारेज गरिदएको हो । जेलमा रहेका नेतालाई रिहा गर्ने अदालतको आदेश कार्यान्वयनमा आएपछि संसदमा विपक्षी पार्टीको बहुमत पुग्नेछ ।
खेल खबर– आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि युएईमा प्रशिक्षण गरिरहेको नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित भएको छ । घरेलु टोली युएईसँगको तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित भएको हो । युएईले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल लक्ष्य पूरा नहुँदै अलआउट भयो । पहिले व्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।
–नेपालले एशिया कपको लागि छनोट खेल खेल्ने भएको छ । एशियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने छ । ६ देशलाई दुई समूहमा विभाजन गरी खेल खेलाइने एसिसिले जनाएको छ । एशिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा हङकङ र मलेसिया छन् । यस्तै समूह ‘बी’मा सिंगापुर युएई र ओमान छन् ।