
सुर्खेत, २० माघ- प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ । भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् । पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ । सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो ।
“प्रदेश संसद् बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौँ” प्रदेश संसद् सचिव सञ्जय दाहालले भन्नुभयो, “संसद् भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।” पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् ।
सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो । दलहरुबीच भएको सहमतिअनुसार माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।