
काठमाडौं, २१ माघ– विभिन्न चार प्रदेशमा आज प्रदेशभाको बैठक बस्दै छ । प्रदेश नम्बर २, ५, ६ र ७ मा आज बस्ने प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । भवन रंगाउने, सजिसजाउ गर्ने, आवश्यक फर्निचर मिलाउने, सरसफाइ गर्ने, कार्पेट बिछ्याउनेलगायतका काम मध्य रात सम्म भएको थियो ।
प्रदेश नम्बर दुईको जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक बसेर प्रदेशसभा संचालनका लागि अन्तरिम कार्यविधी तयार पार्नुका साथै सभाभमुखको निर्वाचनको मिति समेत तय गर्ने काम भएका छन् । ऐतिहासिक रुपमा पहिलोपटक बस्न लागेको प्रदेशसभा वैठक संचालनमा सहजिकरणका लागि संघीय संसद सचिवालयबाट कर्मचारी पनि खटाइएको छ ।
केन्द्रबाट खटिएका कर्मचारीहरुले आफ्नो अनुभवको आधारमा संसद बैठक संचालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयबाट प्रदेश नम्बर ५ मा खटिएका उपसचिव रामकुमार पौडेलले जानकारी दिए । संघीय संसदकै नमूनामा व्यवास्थापन मिलाइएको छ ।
पहिलो पटक बस्न लागेको बैठकलाई लिएर सांसदहरु पनि उत्साहित छन् । प्रदेशसभाका बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक÷एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने लगायतका कार्यसूची तय भएका छन् ।
यता राजनीतिक दलहरुले पनि संसदीय दलको नेता चुन्ने, समितिमा सहभागी हुने सदस्य सिफारिश गर्ने, संसद बैठकलाई सम्बोधन गर्ने सदस्य तोक्ने लगायतका तयारी गरेका छन् । प्रदेश नम्बर १ र ४ को प्रदेश सभा बैठक २२ गते बस्दै छ भने प्रदेश नम्बर ३ को माघ १८ गते सम्पन्न भइसकेको छ ।
संविधान र निर्वाचनको स्वागत– भारतले संविधान कार्यावन्यनका क्रममा भएका तीनै तहको निर्वाचनको सफलता नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा हुने विश्वास व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमण गरी स्वदेश फर्केपछि भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेर नेपालको संविधान र तीनै तहको सफल निर्वाचनको औपचारिक रूपमा स्वागत गरेको हो ।
भारतले सबभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको संज्ञा नै दिँदै त्यही अनुरूपको महत्व समेत दिएको छ । वक्तव्यमा भनिएको छ, ‘नयाँ बन्ने निर्वाचित लोकतान्त्रिक सरकारसँग दुई पक्षीय सम्बन्ध नयाँ उचाईमा लैजान आपसी हितको आधारमा सहकार्य गर्नेछौं । प्राथमिकताको आधारमा नै सरकारलाई हामी सहयोग गर्छौं ।’
भारतीय विदेश मन्त्रालयले स्वराजको नेपाल भ्रमण ‘सफल’ र ‘सम्बन्धलाई पारस्परिक हितको उचाइमा पुर्याउन सहयोगी बनेको जनाएको छ ।
काँग्रेसको निर्देशन- नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि माघ २२ गतेभित्र आ–आफ्नो मतदानस्थलमा उपस्थित हुन सबै मतदातालाई निर्देशन दिएको छ । काँग्रेस पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन गरिएको छ । स्वदेश तथा विदेशमा जहाँ भएपनि राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसले पार्टीका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीयतह प्रमुख, उपप्रमुखलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको हो ।
नेता छान्न निर्वाचन– प्रदेश नम्बर २ को प्रदेशसभामा मधेसी गठबन्धनपछि दोस्रो ठूलो दलको रुपमा रहेको नेकपा एमालेको संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ । १०७ सदस्यीय प्रदेशसभामा एमाले २१ सिट सहित तेस्रो ठूलो दल हो । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपा नेपालको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउनेछ ।
प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संयोजक सत्यनारायण मण्डल र पोलिटव्यूरो सदस्य सत्रुघन महतोबीच चुनाव हुने देखिएको छ ।
खेल खबर– थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टारलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि कब्जा गरेको हो ।
पुलिसका लागि राम वाजिले गरेको गोल नै निर्णायक बन्यो । खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि २० मिनेको समय थपिएको थियो । थपिएको समयको १० औँ मिनेमा रामले पुलिसका लागि गोल गरेका हुन् । उपाधिसँगै पुलिसले ७ लाख रुपैयाँ नगद हात पारेको छ ।