
सुर्खेत, २१ माघ– प्रदेश नम्बर ६ का सांसदहरुले नेपालकै पिछडिएको प्रदेशको विकासका लागि पक्ष विपक्ष नभनी काम गर्ने बताएका छन् । सुर्खेतमा बसेको प्रदेश सभाको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले प्रदेशको विकासका पक्ष प्रतिपक्ष नभन्ने बताएका हुन् ।
विशेष समयमा एमालेका यमलाल कडेलले जीवनजल समेत नपाउने प्रदेशलाई सम्मुन्नत बनाउने अठोट रहेको बताए । ‘जलस्रोत, पर्यटनका हिसावले धनी हुँदा हुदैपनि आधारभूत विकास नहुदा जनता भोकभोकै मर्नु पर्ने अबस्था छ’ कडेलले भने, ‘हामी मिल्यौ भने भौगोलिक विकटतालाई अनुकुलतामा बदल्न सकिन्छ ।’
सांसद कडेलले फापर र कोदो विस्थापित र चाउचाउलाई स्थापित गर्ने प्रबृत्तिलाई अन्त्य गर्नुपर्छ ।
माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले प्रदेश सभाका ४० जना सांसद एउटै भएर प्रदेशको सफल बनाउन लाग्ने बताए । ‘हामी र हाम्रै कमजोरीले पछि परेका हौ । विगतका कमी कमजोरीबाट शिक्षा लिएर अगाडी बढ्न जरुरी छ’ उनले भने ।
नेपाली कांग्रेसका जीवन बहादुर शाहीले सरकारले राम्रो काम गरेमा आफूहरु प्रतिपक्षमा रहेर पनि सहयोग गर्ने बताए । ‘प्रदेशको विकासका लागि हामी सबै एकजुट हुनुजरुरी छ, सरकारले गर्ने राम्रो कामलाई रचनात्मक समर्थन गछौं’ शाहीले भने ।
प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाको बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधी पारित गरेको छ ।