
गोरखा, २२ माघ- ऐतिहासिक गोरखा दरबारको जगसम्मै भत्काइएको छ । विसं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार २०७२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माण गर्न जगैसम्म भत्काइएको हो ।
पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माणका लागि सुरक्षित स्थलमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । ४ करोड ३७ लाख लागतमा दरबारको पुनर्निर्माणका लागि पचलीशिभाको जेभीसँग पुरातत्त्व विभागले ठेक्का सम्झौता गरेको छ । ‘मूल दरबार भत्काएर सकियो, नयाँ दरबार बनाउने ठाउँको माटो परीक्षण गरेपछि साइत हेरेर जग राख्छौं,’ उनले भने ।
दरबार भत्काउने क्रममा जगको पूर्वपट्टिको जमिन कमजोर भेटिएको प्राविधिकहरूले बताए । दरबार रहेको पूर्वपट्टिको जमिनमा छिद्र रहेको अनुमान गरिएको छ । विज्ञ टोली बोलाएर जमिनको नापजाँच गरेपछि पुनर्निर्माण थालिने प्रमुख भुसालले बताए, कान्तिपुरमा खबर छ ।