
म्याग्दी, २२ माघ– प्राकृतिक उपचारस्थलका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको विभिन्न स्थानमा भेटिएका तातोपानीको मुहान र धाराहरूलाई संरक्षणका साथै व्यवस्थित गरिने भएको छ ।
प्राकृतिक उपचारस्थलका रूपमा स्वदेश तथा विदेशमा चर्चित तातोपानीमा मुख्य कुण्डका अतिरिक्त म्याग्दी नदीको किनारमा थप तीनवटा तातोपानीका मुहानहरू भेटिए पनि अलपत्र अवस्थामा रहेको समाचार गत मंसिरमा विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएपछि स्थानीयवासीले विभिन्न स्रोत जुटाएर संरक्षण गरी व्यवस्थित गर्न लागेका हुन् ।
“तातोपानी गाउँको पहिचान हो, हामीले यहाँका स्रोतहरूको संरक्षणमा प्राथमिकता दिएका छौँ,” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भन्नुभयो । उहाँले छिमेकी मंगला गाउँपालिकाको बरंजातर्फ समेत तातोपानीका प्रशस्तै मुहान रहेका बताउनुभयो ।
उहाँले भेटिएका तातोपानीका मुहानलाई संरक्षण गर्नाका साथै त्यहाँ धाराहरू बनाइएको जानकारी दिनुभयो । म्याग्दी खोला कटान र गहिराइसँगै उक्त स्थान वरपर फरक–फरक विशेषता र तातोपानी भएका मुहान भेटिन थालेपछि स्थानीयवासी समेत उत्साहित छन् । खोला नजिक रहेकाले बर्खाको समयमा मुहान पुरिने गरेका थिए ।
तातोपानी कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउन थालेपछि सार्क राष्ट्र र एशियाली मुलुकमा तातोपानीको व्यापक प्रचारप्रसार भइरहेको अध्यक्ष शाक्यले बताउनुभयो ।