
पोखरा २२ माघ- प्रदेश नम्बर ४ का सांसदहरुले पोखरा सभाहलमा बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यो प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रदेशसभाको पहिलो बैठकमा मन्तव्य राख्दै एमालेका पृथ्वी सुव्वा गुरुङले पर्यटकीय सम्भावना बोकेको प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने बताए । मुस्ताङको युरेनियमदेखि जलस्रोतको विकासमार्फत प्रदेशलाई समृद्ध बनाउने उनको भनाइ छ ।
सांसद गुरुङले हिमालदेखि तराईसम्म फैलिएको प्रदेशमा स्वर्गीय हर्क गुरुङले दिएको सुभावअनुसार समावेशी विकास गर्ने पनि बताए । औद्योगिकरूपमा कमजोर रहेको ४ नम्बर प्रदेशलाई ५ वर्षमा ३ नम्बर प्रदेशभन्दा पनि समृद्ध र शिक्षित बनाउने उनको प्रतिबद्धता छ ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले विविदतापूर्वक प्रदेशको विकासका लागि नेपाली कांग्रेसको पूर्ण समर्थन रहने बताए । उनले कालीगण्डकी–मस्र्याङ्दी करिडोरमा जलविद्युत्को विकास र अन्नपूर्ण पदमार्गमार्फत पर्यटनको विकास गर्न सकिने बताए ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले संघीयताको व्यवस्थित ढंगले कार्यान्वयन गर्ने महत्वपूर्ण अवसर आएकोले यसलाई सफल बनाउनुपर्ने बताए । उनले प्रदेशसभाको अधिकार कटौती गर्ने आवाजविरुद्ध संघर्ष गरेर प्रदेशलाई अधिकार सम्पन्न गर्न सकिने बताए ।
४ नम्बर प्रदेशमा धेरै अवसर रहेको भन्दै उनले पर्यटन, जलस्रोत, कृषि र उद्योगको नेतृत्व गर्न सक्ने गरी योजना निर्माण गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेशलाई समृद्ध बनाउन सबैदल मिल्नु पर्ने बताए । उनले संघीयताले नेपाली जनतालाई निकै अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने बताए ।
नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्यले प्रदेशमा सम्भावना नै सम्भावना भए पनि त्यसको सदुपयोगको चुनौती पूरा गर्नुपर्ने बताए । उनले रातारात हतारमा सभाहल निर्माण गर्दा लागेको खर्च सार्वजनिक गर्नुपर्ने बताए ।
जेष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश सभाको पहिलो बैठकमा नेकपा एमालेका किरण गुरुङले पनि प्रदेशको समृद्धिका लागि सबै मिलेर लाग्नु पर्ने बताए । नेपाल एकीकरणका अग्रणी पृथ्वीनारयाण शाहको जन्म भएको प्रदेशबाट समृद्ध नेपालको अभियान शुरु हुने उनले बताए ।