बुटवल, २१ माघ-हिँडेरै अस्पताल पुगेकी एक महिलाको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल दिनभर तनावग्रस्त रह्यो ।
माथागढी–४ झडेवा पाल्पा घर भई हाल बुटवल– ५ अमरपथ बस्दै आएकी ३२ वर्षिया भगवती अधिकारीको सुत्केरी गराउने क्रममा मृत्यु भएको हो ।
भगवतीका आफन्तले डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनीहरुले दिनभर अस्पताल परिसरमा प्रदर्शनसमेत गरिरहेका छन् ।
घटनाको छानविन नभएसम्म शव नउठाउने भगवतीका श्रीमान पशुपति अधिकारीले बताए ।
अस्पतालको दाबी, 'मृत्युको कारण हृदयघात'
प्रसुतीका लागि आइतबार ६ अस्पताल पुगेकी भवगतीलाई अस्पताल भर्ना गरेर सलाइन चढाइयो । सलाइनको पहिलो बोत्तल सकिएपछि दोस्रो लगाउने क्रममा उनी बेहोस हुन पुगिन् । त्यसपछि आइसियुमा सारिएकी भगवतीको राति ज्ञज्ञ बजेतिर मृत्यु भएको हो ।
अस्पतालले उनको मृत्युको कारण हृदयघात रहेको जिकिर गरेको छ । सुत्केरी व्याथासँगै हृदयघात भएका कारण उनको निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण खनालले बताए ।
अनुसन्धान गरेर अस्पताल दोषी देखिए क्षतिपूर्ति दिन तयार रहेको उनको भनाइ छ । ‘मृत्युको कारणबारे विश्वास नलागे छानबिन टोली बनाएर छानबिन गरौं,’ उनले भने, ‘छानविनपश्चात दोषी ठहरिए अस्पताल प्रशासन क्षतिपूर्ति दिन तयार छ ।’