३१ जेठ २०८३, आइतबार

सांसदहरूले नै पाएनन् कोठा, ‘डेरा’ पाएकालाई भाडाको चिन्ता !

माघ २२, २०७४
सांसदहरूले नै पाएनन् कोठा, ‘डेरा’ पाएकालाई भाडाको चिन्ता !

सुर्खेत, २२ माघ– प्रदेश नं. ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेससभा सदस्यहरु कोठा खोज्न व्यस्त बनेका छन् । कर्णाली अञ्चलका ५ जिल्ला, भेरी अञ्चलका तीन र राप्तीका २ जिल्ला मिलेर बनेको यो प्रदेशमा सुर्खेतबाहेक अन्य जिल्लाका सांसदहरुलाई बस्नका लागि कोठा खोज्ने चटारो परेको हो । 

प्रदेससभाको पहिलो बैठक सकिएको र आगामी माघ २९ गते बस्ने दोश्रो वैठकले सभामुख चुन्ने भएपछि सांसदहरुले सुर्खेत बसाइँको व्यवस्था गर्न लागेका हुन् । 

मुगुबाट समानुपातिक तर्फ निर्वाचित प्रदेससभा सदस्य झोवा कामीले आफूले सुर्खेतमा उपयुक्त कोठा नपाएको बताईन् । उनले लोकान्तरसँग भनिन्, ‘अस्तिदेखि नै कोठा खोज्न थालेको, भेटाउन सकेकी छैन ।’ उनले कोठा नपाँउदा आर्थिक समस्या समेत भएको बताइन्, भन्छिन् ‘मुगुबाट धेरै व्यक्ति आएका छन्, सबैलाई होटलमा बस्ने व्यवस्था मिलाएँ तर होटलमा भने महँगो पैसा तिर्नु परिरहेको छ ।’ 

कालीकोटबाट प्रदेससभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य कुर्मराज शाहीले सुर्खेतको कोठा भाडा काठमाडौं भन्दा महंगो भएको गुनासो पोखे । 

उनले प्रतिनिधिसभा सदस्यहरुले जस्तै प्रदेससभा सदस्यहरुलाई राज्यले स्रोत नदिएको कारण कोठाभाडा र अन्य खर्चसमेत घरबाट ल्याएर चलाउनु परेकोमा जनाए । उनले भने, ‘सुर्खेतमा घर हुनेहरुका लागि त ठिकै हो, नत्र एक सानो कोठाको मासिक ३ हजार भाडा, कम्तिमा ३ कोठा लिनुपर्ने, पानी, विजुली विल तिर्दा करिब ११ हजार मासिक खर्च हुने देखियो ।’ 

जाजरकोटबाट निर्वाचित कृष्णा शाह आचार्यको पीडा पनि उस्तै छ । वीरेन्द्रनगरमा ३ ओटा कोठा भाडामा लिएकी आचार्यलाई भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘मासिक ८ हजार कोठा भाडा, खाना खर्च गरेर कम्तिमा २० हजार खर्च हुन्छ । त्यो पैसा कसरी घरबाट ल्याउने भन्ने चिन्ता छ’ आचार्यले लोकान्तरसँग भनिन् । 

कालिकोटबाट निर्वाचित प्रदेससभा सदस्य शोसिला शाहीले भने कोठा नपाएर हैरानी बेहोर्नु परेको बताइन् । 

‘अहिलेसम्म होटलमै बास छ, महंगो खाना र कोठा भाडाका कारण आर्थिक समस्या भयो ।’ उनले थपिन्, ‘जनता र कार्यकर्ता आफूहरुलाई भेट्न आउने हुँदा थप खर्च बढेर गएको छ ।’

दैलेख जिल्लाबाट प्रदेशसभामा निर्वाचित राजबहादुर शाहीले भने कोठा खोजेका छैनन् । उनी प्रदेश सरकार गठन भएपछि मात्र कोठा खोज्ने बताउँछन् । शाहीले भने,‘पहिले सरकार गठन होस्, सबै काम सम्पन्न होउन अनिमात्र कोठा खोजेर व्यवस्थित रुपमा बस्छु ।’ उनले अहिले सुर्खेतमा रहेका आफन्तकोमा बसिरहेको बताए ।

संसदीय दलको नेता चयन हुन सकेन

प्रदेश नम्बर ६ को पहिलो दलबनेको नेकपा एमाले, दोस्रो बनेको नेकपा माओवादी र तेस्रो बनेको नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न सकेका छैनन् । 

वाम गठबन्धनभित्रका दुई ठूला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आकांक्षी धेरै भएपछि प्रदेश सरकार गठन तथा संसदीय दलको नेताको नाम टुङ्गो लगाउन कठिन भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार  माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको छ भने सभामुख एमालेको भागमा परेको छ । 

माओवादी केन्द्रमा दुई जना प्रतिस्पर्धी देखिएका कारण नेतृत्व छनोट हुन सकेको छैन  । माओवादीभित्र संसदीय दलको नेताका लागि जुम्ला प्रदेश ‘क’ का प्रदेश सांसद नरेश भण्डारी र कालीकोटका प्रदेश ‘ख’ प्रदेश सांसद तथा निवर्तमान ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले दाबी गरिरहेका छन्

प्रदेशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेमा समेत संसदीय दलमाा दुईजना यामलाल कंडेल र प्रकाश ज्वाला ले इच्छा देखाएपछि  एमालेभित्रका सांसदहरु विभाजित बनेका छन् ।

प्रदेश नम्बर ६ मा ४० जना प्रदेश सांसद रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्