काठमाडौं २३ माघ- संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि ३६ हजार ६२९ जना कर्मचारीको अस्थायी दरबन्दी तयार पारेको छ । मन्त्रालयले स्थानीय तहबाट प्राप्त सुझाव, विज्ञहरूसँगको छलफल र कामको चापलाई समेत विश्लेषण गर्दै तयार पारेको प्रतिवेदनमा कुल ७५३ स्थानीय तहका लागि सो संख्यामा अस्थायी दरबन्दी तयार पारेको हो ।
स्थानीय विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पठाउने तयारी गरिरहेको मन्त्रालयका सहसचिव आनन्दराज ढकालले जानकारी दिए । उनका अनुसार प्रस्तावित सो प्रतिवेदन मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै लागू हुने भएकाले अहिले यो प्रस्तावित मात्रै रहेको बताए ।
यो अस्थायी दरबन्दी भएकाले यसलाई समयअनुसार मन्त्रिपरिषद्ले थपघट गर्न सकिने भए पनि अहिलेलाई अस्थायी प्रकृतिको दरबन्दी तय भएको मन्त्रालयले जनाएको छ । सामान्यतया मन्त्रालयले पठाएको प्रस्तावमा हेरफेर नगरिने भए पनि सो प्रतिवेदनलाई आवश्यक देखेमा मुख्य सचिवले संशोधन गरेर मन्त्रिपरिषद्मा पठाउन सक्ने अधिकार रहन्छ, राजधानी दैनिकमा खबर छ ।