काठमाडौं, २३ माघ — दिल्लीको कमला मार्केटस्थित युनिभर्सल टाइपराइटर स्टोरमा २० वर्षका एक युवक टाइपराइटर किन्न जाँदा स्टोरका मालिक राजेश पल्टालाई पुरानो सामान किन्नमा रुचि राख्ने युवक रहेछ भन्ने लाग्यो ।
उनलाई युवकले टाइपराइटर किनेपछि के कुरामा ध्यान दिनुपर्छ भनी सोधे । राजेशले तपाईंलाई यी सबै कुरा किन जान्नुपरेको भनी सोध्दा मिडिया अध्येता ती युवकले भने, ‘मैले केही स्क्रिप्टहरूमा काम गरेको थिएँ तर ती सबै रिजेक्ट भए । मैले आफ्नो प्राध्यापकलाई किन यसो भएको भनी सोधें । प्रोफेसरले त्यसपछि ल्यापटपको साटो टाइपराइटर प्रयोग गर्ने सुझाव दिए । अहिले टाइप गर्दा म पहिलाभन्दा बढी ध्यान केन्द्रित गर्न सक्छु ।’
यो घटनापछि विगत तीन दशकदेखि गोदरेज टाइपराइटर बेचिरहेका राजेशको आँखा खोलिदियो । टाइपराइटर डीलर राजेशले भने, ‘मैले यसबारेमा सानोतिनो अनुसन्धान गरें अनि आर्टिकलहरू पनि पढें । पश्चिमी देशहरूमा लेखकहरूले ल्यापटपको साटो टाइपराइटरलाई प्राथमिकता दिइरहेका छन् किनकि ल्यापटपमा पप अप विन्डोका कारण ध्यान भंग हुन्छ । टाइपराइटरको बारेमा जानकारी लिन तथा किन्नका लागि मलाई दिनमा पाँचजना जतिको फोन आउँछ । यीमध्ये ५० प्रतिशत युवा छन् ।’
सामाजिक सञ्जालको हल्लाखल्लाबाट अलग रहनका लागि विस्तृति पोद्दारलाई टाइपराइटर प्रयोग गर्ने प्रेरणा प्राप्त भयो । उनको मिल्ने साथीले उनलाई टाइपराइटर उपहार दिए ।
ननफिक्सन कुराकानीको अन्लाइन पोर्टल पेपरलेस पोस्टकार्ड्सकी संस्थापक पोद्दार भन्छिन्, ‘टाइपराइटर डिजिटल डिटक्स जस्तो छ । हामीहरू अचेल फोनबाट एक मिनेट पनि आँखा हटाउन सक्दैनौं । तर म चाहिँ ओलिभेती टाइपराइटरमा मन खोलेर लेख्न रुचाउँछु ।’
पोद्दारको कुरा मान्ने हो भने टाइपराइटरका कारण उनी राम्ररी फोकस गर्न पाउँछिन् । ‘टाइपराइटरमा लेख्दा गल्तीहरू डिलिट गर्न मिल्दैन । त्यसैले केही कुरा टाइप गर्नुअघि दिमागमा म एउटा भिजन म्याप तयार पार्छु अनि मात्र लेख्न बस्छु । यसो गर्दा मलाई आफ्नो लक्ष्य र उद्देश्यप्रति प्रस्ट रहन्छु ।’
एजेन्सी