
काठमाडौं, २३ माघ– सुनसरीको इटहरीमा एक बालिकामाथि भएको बलात्कारको घटनामा संलग्न रहेको आरोप लागेका एक प्रहरी उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी निलम्बनमा परेका हुन् । एसपी माझीसँगै जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर निरञ्जीवि दाहाल पनि निलम्बनमा परेका छन् ।
गत पुस १६ गते अंग्रेजी नयाँ वर्ष २०१८ मनाउन गएकी एक १४ वर्षीया बालिकामाथि इटहरीको रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो ।
बालिकाले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तर प्रहरी प्रमुख माझी र इन्सपेक्टर दाहालले घटनालाई गुपचुप पारेका थिए ।
सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ । बलात्कारमा संलग्न जुकल लिम्बु पक्राउ परे पनि श्रेष्ठ भने अझै फरार छन् ।
प्रहरी प्रधान कार्यालयले दुवै जनालाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हाे ।