जनकपुरधाम, २४ माघ- प्रदेश सभाको पहिलो बैठकमा केही सांसदले हिन्दी भाषामा सम्बोधन गरेको भन्दै जनकपुरका युवा विरोधमा उत्रिएका छन् ।
तराई मधेसको सम्पर्क भाषाको नाममा हिन्दीलाई बढावा दिएकोमा विरोध गर्दै युवाहरूले आन्दोलित बनेका हुन् । स्थानीय जनक चोकमा परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णको अगुवाइ र स्थानीय युवा बिल्टु पञ्जियारको नेतृत्वमा मंगलबार संघीय समाजवादी फोरम र राजपाको झन्डा जलाएको खबर नयाँ पत्रिकाले छापेको छ ।
‘हाम्रो आन्दोलन हिन्दी भाषाको विरोध होइन, हाम्रो आन्दोलन सम्पर्क भाषाको नाममा मातृभाषालाई उपेक्षा गरेको विरोधमा हो,’ संयोजक कर्णले भने । प्रदेशसभाको पहिलो बैठकमा संघीय समाजवादी फोरमबाट मोहम्मद लालबाबु राउत गद्दी र राजपाबाट जितेन्द्र सोनालले हिन्दी भाषामा सम्बोधन गरेका थिए । राउत पर्सा र सोनाल बाराका हुन् । दुवै जिल्लामा अधिकांशले बोल्ने भाषा भोजपुरी हो । एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रदेश सभा सदस्यले मैथिलीमा बोलेका थिए । भोजपुरी भाषी सांसदले हिन्दीमा बोलेकाले विरोध सुरु भएको हो ।