
काठमाडौं, २४ माघ — मुसलमानबहुल देश पाकिस्तानमा हिन्दू अनुहार कमै देख्न पाइन्छ अनि महिलाको उपस्थिति त लगभग शून्य नै छ ।
तर सांसद सूचीमा कृष्णा कोहलीको नाम जोडिने सम्भावना छ । उनले अल्पसंख्यक समुदायका तर्फबाट सिनेट सदस्य बन्नका लागि उम्मेदवारी दिएकी छन् ।
पाकिस्तानको थरपारकरमा बस्ने कृष्णाले बुधवार सिनेट चुनावका लागि पाकिस्तानी निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएकी छन् ।
पाकिस्तान पिपुल्स पार्टीले कृष्णालाई सिन्ध क्षेत्रबाट सामान्य श्रेणीमा उम्मेदवार बनाएको छ ।
कृष्णाले उम्मेदवारीको कागजात दर्ता गराउन आयोगको कार्यालयमा जाँदा फरक देखिएकी थिइन् ।
उनले बताएअनुसार, पाकिस्तानको इतिहासमा थरपारकर क्षेत्रको उनी नै पहिलो महिला हुन् जसलाई संसद् पुग्ने अवसर प्राप्त भएको छ ।
उनी भन्छिन्, ‘म बिलावल भुट्टोलाई धेरै धन्यवाद दिन चाहन्छु ।’
उनले थरपारकरमा मानिसको जिन्दगी मुश्किल रहेको बताइन् । त्यहाँ वर्षैपिच्छे सुक्खा हुनाले सबै कुरा सुकाइदिन्छ ।
उनका पिता जुगनू कोहली एक जमीनदारकहाँ मजदूरी गर्थे अनि काम नपाएकाले फरक फरक ठाउँमा कामको खोजी गर्थे ।
कृष्णा कोहली केशूबाई नामले पनि चिनिन्छिन् ।
उनको विवाह १६ वर्षमै भएको थियो तर उनका पतिले उनको पढाइमा सहायता गरेको उनी बताउँछिन् ।
कृष्णाले सिन्ध विश्वविद्यालयबाट समाजशास्त्रमा मास्टर्स गरेकी छन् र विगत २० वर्षमा थरमा महिलालाई तालिम र स्वास्थ्यका लागि प्रयास गरिरहेकी छन् ।
बीबीसीबाट