
काठमाडौं, २६ माघ– संघीय व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्ट्रियसभा र प्रतिनिधि सभाको आवश्यक तयारी र प्रक्रिया पूरा गरी दुवै सदनको सबै निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।
आयोगले दुवै सदनको अन्तिम मतपरिणाम राष्ट्रिपतिलाई बुझाइसकेपछि सांसदको शपथ र नयाँ सरकार गठनको प्रक्रिया एकैसाथ अघि बढ्ने छ । आयोगले सबै निर्वाचनको परिणाम फागुन ५ गतेभित्र राष्ट्रपति समक्ष बुझाइसक्ने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपनि कानूनी अड्चनका कारण निर्वाचन आयोगले समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न सकेको थिएन । नयाँ सरकार गठनका लागि सबै प्रक्रिया पूरा भएपछि फागुन ७ गते सम्म आफूहरु पनि सरकारबाट बाहिरिने कानून मन्त्री यज्ञबहादुर थापाले बताए ।
ओली र प्रचण्डबीच वार्ता– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ । राष्ट्रियसभा निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । बिहीबारको छलफलअनुसार शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने समहमति बनेको छ । एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।
मतपरिणाम सार्वजनिक– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेको छ । निर्वाचनमा एमालेले २७ सिट ल्याएर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम २ र राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा विजयी भएका छन् ।
निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार ७ दिनभित्र राष्ट्रियसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्नेछ । बुधबार ५६ सदस्यका लागि राष्ट्रियसभाको निर्वाचन भएको थियो ।
काँग्रेसको बैठक– नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । बिहान ९ः०० बजे बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभामा मानोनित हुने सदस्यका लागि सरकारले सिफारिश गर्ने सदस्यका बारेमा छलफल हुने बताइएको छ ।
पार्टी एकता हुने– मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् । महासचिवद्वय वैद्य र चन्दले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ ।
राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएको संघर्षका कार्यक्रमलाई थप व्यवस्थित गर्नका लागि वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिसित आवश्यक समझदारी बनाई संयुक्त मोर्चा निर्माणका निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीको कमजोरी– राजधानीको दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको प्रतिवेदन तयार पारेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरु पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउने र छिपाउने काममा संलग्नता देखिएको जनाएको छ ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको तथा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनै जनालाई ‘उपर हदैया’ सम्मको कडाभन्दा कडा कारवाहीको सिफारिससमेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानूनबमोजिम कारवाहीसमेत अगाडि बढाइने परिसरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुणस्तर प्रमाणपत्र प्रदान– तीनवटा एलपी ग्याँस उद्योगले नेपाल गुणस्तर प्रमाणपत्र पाएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणपत्र दिनुअघि विभागले यी ग्याँस उद्योगमा दुई पटक निरीक्षण गरेको थियो । योसँगै नेपालमा सञ्चालित ग्याँस उद्योगमध्ये गुणस्तर प्राप्त गर्ने उद्योगको संख्या सात पुगेको छ ।
खड्गी पक्राउ– मानवतस्करीको आरोपमा कलाकार एंव द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । उनलाई मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमती दिएको छ ।
विभिन्न कार्यक्रममा नाममा युवाहरुलाई मानवतस्करी गरेको अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
यस्तै काठमाडौंस्थित एभरेस्ट होटेलका सञ्चालक मस्कुर अहमद लारी लागु औषध तस्करीको मुद्दामा पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले उनलाई बिहीबार महाराजगन्जबाटै पक्राउ गरेको हो ।
सन् १९९७ मा जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थलमा बरामद भएको २५० किलो चरेश तस्करीमा लारीको संलग्ना रहेको खुलेको थियो । प्रहरीले उनलाई २१ वर्षदेखि खोज्दै आएको थियो ।
विदेशका खबर– भ्रष्टाचार गरेको आरोपमा बंगलादेशकी पूर्व प्रधानमन्त्री ७१ वर्षिया बेगम खालिदा जियालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । विदेशी सहयोगको दुरुपयोग गरेको भन्दै बंगलादेशको उच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई ५ वर्षको जेल सजाय सुनाएको हो ।
जियाविरुद्ध अझै दर्जनौ मुद्दा अदालतमा विचाराधीन छन् । खालिदा जियालाई जेल सजाय भएपछि राजधानी ढाकामा उनका हजारौं समर्थकले प्रदर्शन गरेका छन् ।
खेल खबर– आईसीसी डिभिजन टू अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल १ विकेटले विजयी भएको छ । नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई १३८ रनमै समेटेको थियो । ५० ओभरको खेलमा १३९ रनको सामान्य लक्ष्य पाए पनि नेपालले ब्याटिङमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन ।