
काठमाडौं, २६ माघ– राजनीतिक दलहरु पार्टीको प्रदेशस्तरीय संसदीय दलको नेता छान्न व्यस्त बनेका छन् । कतिपय दलहरुले केही प्रदेशमा टुंगो लगाएका छन् भने केहीमा छनोटकै क्रममा छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता छान्ने क्रम सकिएको छैन ।
एमाले ६ नं प्रदेशले संसदीय दलको नेतामा यामलाल कँडेल (सुर्खेत) लाई चयन गरेको छ । ज्येष्ठ सदस्य पदमबहादुर रोकायाको अध्यक्षतामा बिहीबार बसेको संसदीय दलको बैठकले सल्यानका सांसद प्रकाश ज्वालाको प्रस्ताव र जाजरकोटका सांसद करवीर शाहीको समर्थनमा उनलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
यसैगरी प्रदेश नम्बर ३ को संसदीय दलको नेता चयनका लागि एमाले संसदीय दलको बैठक आज बस्दैछ । प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डेले दावी गरेका छन्
नेकपा माओवादी केन्द्रले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ । माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताएकी हुन् ।
यस्तै माओवादीले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ । संसदीय दलको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ ।
माओवादी केन्द्र प्रदेश नं ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही (कालीकोट) चयन भएका छन् । संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद कृष्णा शाहले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेसले पनि प्रदेश नं. ३ मा संसदीय दलको नेता छनोट गरेको छ । पार्टीको प्रदेश नं ३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन भएका छन् ।