
काठमाडौं, २६ माघ — चीनी कम, पा र की एन्ड का जस्ता फिल्म बनाएका आर बाल्कीले निर्देशन गरेको फिल्म प्याडम्यान शुक्रवार सार्वजनिक भएको छ । फिल्मले बलियो सन्देश दिन्छ ।
अक्षय कुमार, राधिका आप्टे र सोनम कपूरको प्रमुख भूमिका रहेको फिल्मको कथा तमिलनाडुका अरुणाचलम मुरुगनाथमको जीवनमा आधारित छ । उनले सस्ता स्यानिटरी प्याड बनाएर पत्नी, बहिनी र अन्य महिलालाई रजस्वला हुँदा आउने समस्याबाट मुक्ति दिलाएका थिए ।
कथा लक्ष्मीकान्त चौहान अर्थात् लक्ष्मी (अक्षय कुमार) वरिपरि घुमेको छ । उत्तर प्रदेशको सानो गाउँमा बस्ने लक्ष्मीले आफ्नी पत्नी गायत्री (राधिका आप्टे) लाई धेरै प्रेम गर्छन् र उनको जीवनलाई सहज बनाउन चाहन्छन् ।
गायत्रीले रजस्वलापश्चात् फोहोर कपडा प्रयोग गर्ने थाहा उनी थाहा पाउँछन् । कारखानामा काम गर्ने मजूदरकी पत्नी भएकाले उनी महंगा स्यानिटरी प्याड किन्न सक्दिनन् । त्यसपछि लक्ष्मी आफैं स्यानिटरी प्याड बनाउन थाल्छन् ।
लक्ष्मीले प्याडमाथि गरेको परीक्षण र त्यसप्रतिको लगावलाई छिमेकीहरूले उडाउन थाल्छन् । लक्ष्मीले वरिपरिका महिलाको जीवन सहज बनाउनका लागि संघर्ष गर्छन् अनि रजस्वलालाई फोहोर कर्म मान्ने र महिलालाई अलग राख्ने समाजविरुद्ध लड्छन् ।
लक्ष्मीले यो लडाईंमा कस्तो चुनौतीको सामना गर्नुपर्छ जान्नका लागि फिल्म नै हेर्नुपर्छ ।
लक्ष्मीको भूमिकामा अक्षय कुमार फिट छन् । अरुणाचलमको अंग्रेजी भाषण सुनेका र देखेका मानिसले फिल्ममा अक्षयलाई हेर्दा कसरी उनले अरुणाचलमको बडी ल्यांग्वेज, विशेषता र जोखिमहरूलाई दुरुस्तै उतारेका छन् भन्ने थाहा हुन्छ ।
राधिका आप्टे पनि आफ्नो भूमिकामा प्राकृतिक देखिएकी छन् । अक्षय कुमारसँग उनको केमिस्ट्री जमेको छ । संगीतकार परीका रूपमा सोनम कपूरको भूमिका पनि राम्रो छ ।
फिल्मको पहिलो भाग बलियो छ । बाल्कीले त्यसमा लक्ष्मीको व्यक्तित्व र रमाइलोपन देखाएका छन् । दोस्रो भाग कमजोर छ । अनावश्यक रोमान्टिक ट्य्राकले फिल्मको गति घटाएको छ । यति बलियो कथानक, प्रभावशाली नायक
र राम्रो अभिनयका बीचमा गीत घुसाउनु आवश्यक थिएन ।
अमिताभ बच्चनले फिल्ममा क्यामियो भूमिका गरेका छन् । उनको भाषण चाहिँ छोट्ट्याइदिएको भए हुन्थ्यो ।
फिल्ममा अमित त्रिवेदीको संगीतले आनन्द दिन्छ ।
फिल्मको कथा र प्रमुख कलाकारको अभिनयले फिल्मलाई उम्दा बनाएको छ । फिल्मले उठाएको विषयलाई समर्थन गर्न पनि यो फिल्म हेर्न जानुभए हुन्छ ।
रेटिङ : ३.५/५
स्टारकास्ट : अक्षय कुमार, राधिका आप्टे, सोनम कपूर
निर्देशक : आर बाल्की
विधा : जीवनी
दैनिक भास्करमा प्रकाशित शुभा शेट्टी साहको समीक्षाको भावानुवाद