
काठमाडौं, २६ माघ– सिंहदरवारको दक्षिणी गेटबाट भित्र छिर्दा बायाँतिर दोस्रो लहरमा छ, संसद सचिवालय । नयाँ संविधान जारी भएपछि भएको पहिलो निर्वाचनपछि संसदको संरचना पनि परिवर्तन भएको छ । यसअघिको संसद सचिवालय अब, संघीय संसद सचिवालय बनेको छ । भवनमा नयाँ रंग लगाइएको छ, भित्र नयाँ कुर्सीहरु फेरिएका छन् । भुइँमा नयाँ कार्पेट लगाइएको छ ।
संसद सचिवालय अगाडिको एक दृश्यले भने त्यहाँ भइरहेको रंगरोगन र सरसफाईलाई गिज्याइरहेको छ । संसद सचिवालय अगाडिको पार्किङस्थलमा रहेका पुराना गाडीले मर्मत कुरिरहेका छन् । तर त्यहाँ कसैको ध्यान जान सकेको छैन ।

संसद सचिवालय अगाडिको पार्किङस्थलमा करिब आधा दर्जन महङ्गा गाडीहरु थन्किएर बसेका छन् । ५० लाखदेखि ३ करोडको मूल्य पर्ने गाडीहरु मर्मत नगरेर थन्क्याइएका छन् । कुनै गाडीको टायर पन्चर भएको छ, भने कसैको सिसा फुटेको छ । एउटा गाडीका लागि बढीमा ४० हजारसम्म खर्च गरे सबै गाडीलाई प्रयोगमा ल्याउन सकिन्छ । तर त्यसतर्फ कसैको ध्यान गएको देखिँदैन ।

संसद सचिवालय अगाडि मात्र हैन, सिंहदरवारका सबै मन्त्रालय अगाडिका पार्किङस्थलमा पुराना गाडि देख्न सकिन्छ । अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बीचको पार्किङस्थलमा करोडौं मूल्यका गाडी थन्क्याएर राखिएका छन् ।

संघीयता कार्यान्वयनसँगै सातवटै प्रदेशमा प्रदेश सरकार गठन हुने तयारी छ । अबको २ सातासम्म सबै प्रदेशमा सरकार बनिसक्नेछन् । प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सभामुख, प्रदेश प्रमुखलाई गाडीको आवश्यकता पर्नेछ । तर सिंहदरवारमा भने करोडौं मूल्य बराबरका गाडी कवाडीका रुपमा थन्क्याएर राखिएको छ ।

गृह मन्त्रालयको सवारी व्यवस्थापन शाखाकाअनुसार सिंहदरवार भित्र तीनसयको संख्यामा गाडीहरु थन्क्याएर राखिएका छन् । न्यूनतम ५० लाखदेखि ५ करोड मूल्य पर्ने गाडीहरु सिंहदरवार भित्र थन्क्याएर राखिएका छन् ।






