
विराटनगर, २६ माघ- नेकपा (एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ ।
संसदीय दलको नेतामा एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री शेरधन राईले उम्मेदवारी दिएका छन् ।
बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराइएको हो ।
आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन्, भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका छन् ।
दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपराह्न ३ः३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले बताए ।
प्रदेश नं. १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये कम्तिमा २६ मत ल्याउने उम्मेदवार संसदीय दलको नेता बन्नेछन्।
संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ ।