
काठमाडौं २६ माघ– नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको दुई बर्ष पूरा भएको छ ।
२०७२ सालमा कोइराला प्रधानमन्त्री भएको समयमा संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो ।
कोइरालाको स्मृतिमा कांग्रेसका भातृ संगठनहरुले शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
यसैबीच पूर्वसांसद् एवं कांग्रेसका नेता शोभाकर पराजुलीले कोइरालाको निधनवारे शंका रहेको भन्दै उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पराजुलीले ‘संविधान पिता’ कोइरालाको निधनबारे आजको दिनमा उच्चस्तरिय छानविन समिति बनाउनु पर्ने माग गरेका हुन् । तत्कालिन कांग्रेस सभापति कोइरालाको २०७२ साल माघ २६ गते राति निधन भएको थियो । उनको निधारमा दाग देखिएको भन्दै सर्वसाधारणले उनको स्वभाविक मृत्यु नभएको आशंका गरेका थिए ।