
काठमाडौं, २७ माघ– सरकार गठन तयारीमा रहेको वाम गठबन्धनको प्रमुख घटक एमालेसँग पानी बाराबारको अवस्थामा रहेका मधेसी दलले संविधान संशोधन प्रस्ताव अघि बढाए सहकार्य गर्न सकिने संकेत गरेका छन् ।
संसद्को प्रमुख दल एमालेले मधेसकेन्द्रित दुई ठूला दल संघीय फोरम र राजपा नेपालसँगको सम्बन्ध सुधारका लागि सुवास नेम्बाङ, अग्नि खरेललगायत नेतालाई खटाएको छ । एमालेसँगको संवादमा मधेसी दलका शीर्ष नेताले संशोधनलाई सर्तका रुपमा अघि सारेका छन् । संघीय फोरमले जनमतको सम्मान गर्दै संशोधन प्रस्ताव अघि बढाइए एमाले नेतृत्वको सरकारमा सहभागी हुनसक्ने संकेत दिएको एमाले नेताहरू बताउँछन् ।
स्थानीय, प्रदेश र संघमा दुई पार्टीले पाएको मतको सम्मानलाई ध्यान दिँदै मधेस मुद्दाको सम्बोधनका लागि संविधान संशोधनको विकल्प नरहेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । एमालेले ठोस रूपमै संशोधनमा जाने प्रतिबद्धता जनाउँदै परिणामुखी कार्य गरे भावी सरकारमा सहभागी हुनसक्ने जानकारी दिए । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अनौपचारिक वार्ता भइरहेको छ तर ठोस कुरा आइसकेको छैन ।’
ओलीका दूत नेम्बाङ र खरेलले संविधान संशोधनको विषयमा पुरानै अडान कायम राखेकाले वार्ता परिणामुखी हुन नसकेको मधेसी नेताहरू बताउँछन् । स्रोतले भन्यो, ‘एमालेले मधेसको मागलाई औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिने भन्दै संशोधन मुद्दालाई ओझेलमा पार्न खोजेको छ ।’
एमाले नेता अग्निप्रसाद खरेलले मधेसकेन्द्रित दलसहितको सरकार निर्माणका लागि मधेसी दलका नेताहरूलाई आग्रह गरेको जानकारी दिए। उनले भने, ‘परिणाम सकारात्मक÷नकारात्मक दुवै हुनसक्छ, छलफल भइरहेको छ।’ कुनै पनि प्रस्तावको औचित्य र आवश्यकतालाई ध्यान दिएरै निर्णय गर्ने खरेलले बताए ।
राजपा नेता एवं सांसद लक्ष्मणलाल कर्णले एमालेबाट के प्रस्ताव आयो, आएनभन्दा पनि संविधान संशोधन नभएसम्म सरकारमा जान नसकिने बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।