
काठमाडौं, २७ माघ– दार्चुलाको शैल्यशिखरस्थित बलान्चमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको निर्माण सम्पन्न भई आज औपचारिक उद्घाटन हुँदैछ ।
३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सफल परीक्षण सकिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।
आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसहितको विशिष्ट टोली बिहान साढे ११ बजे दार्चुला जाने कार्यक्रम रहेको छ । आयोजनाबाट हाल १५÷१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
हाल दैनिक साँझ ६ बजेबाट बिहान ९ बजेसम्म विद्युत उत्पादन भइरहेको आयोजना जनाएको छ । तर हिउँदयाम भएकाले पूर्ण क्षमतामा उत्पादन गर्न भने अझै केही समय लाग्ने छ ।
निर्माण सुरु भएको ११ वर्षमा सम्पन्न सरकारी लगानीको यो आयोजनाले सुदुरपश्चिमको विकास र त्यहाँका अन्य सम्भावनालाई समेत मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
सन् २०११ मा सक्ने लक्ष्य राखी २००७ मा सुरु आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै यसको लागतसमेत बढेको छ । सो आयोजना ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएपनि समयावधी लम्बिदै जाँदा हालसम्म १४ अर्ब भन्दा बढी खर्च भइसकेको आयोजना प्रमुख दाहालको भनाइ छ ।