काठमाडौँ, २८ माघ- डा. गोविन्द केसीले विचाराधिन मुद्दामा चलखेल गर्नसक्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् । पराजुलीको राजीनामा माग गर्दै यसअघि अनसन नै बसेका केसीले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो पुरानै माग दोहोर्याएका हुन् ।
नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको माग गर्दैप्रधानन्यायाधीश पराजुलीलाई विपक्षी बनाई केसीले दायरगरेको रिट सर्वोच्चमा अहिले विचाराधिन अवस्थामा छ । पत्रकार सम्मेलनमा केसीले सर्वोच्च अदालतले दिएको कागजात र विभिन्न सञ्चार माध्यमहरुमा आएको तथ्यका आधारमा पराजुलीका चार अलग अलग जन्ममिति भेटिएको तथा प्रवेशिका वा सो सरहको परीक्षा पास गरेको चारित्रिक प्रमाणपत्र नै पेश नगरी अध्ययन गरेको तथा न्यायाधीश नियुक्त भएको देखिएको दाबी गरे । “विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी अनुचित चलखेल गरी रहेको र अहिले पनि विवादास्पद कार्यहरु गरी रहेको हुनाले प्रधान न्यायाधीश गोपाल पराजुलीले तत्काल राजीनामा दिनु पर्दछ,” केसीको माग छ, “प्रधान न्यायाधीश गोपाल पराजुलीले दूषित रुपमा प्राप्त गरेका नागरिकताका प्रतिलिपीहरु, शैक्षिक प्रमाणपत्रहरु तथा तीनका आधारमा भएका नियुक्ति बदर गरी उहाँलाई कानुनी कारवाही गरियोस् ।” कारोबार दैनिकमा खबर छ |