
काठमाडौं, २९ माघ– एमाले र माओवादीबीचको पार्टी एकता नयाँ सरकार गठनपछि मात्र हुने भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी समिति बैठकले फागुनभित्र नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकार गठन अगावै पार्टी एकता हुने सम्भावना टरेको छ ।
पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने एमालेले जनाएको छ । ‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ । सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’
फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ ।
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा भएको कार्यक्रममा सरकार गठनभन्दा पार्टी एकता प्राथमिकतामा रहेको बताएका थिए । त्यसको एकदिन पछि हिजो अर्को कार्यक्रममा दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरे ।
उनले राष्ट्र र जनताको आवश्यकताअनुसार आफूले जुनसुकै फड्को हान्न सक्ने पछिल्लो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको बताए ।
मुख्यमन्त्रीमा पौडेल– प्रदेश नं ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार संविधानको धारा १६८ को उपधारा १ बमोजिम एमाले प्रदेश नं ३ का संसदीय दलका नेता पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।
महाशिवरात्रीको तयारी पूरा– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विकास कोषले आइतबार पत्रकार सम्मेलन गरेर दर्शनार्थीको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको जानकारी दिएको हो ।
कोषले सोमबार साँझ ७ बजेदेखि ठूला सवारी साधनलाई महाराजगञ्ज चक्रपथ र कोटेश्वरबाट पशुपतितर्फ जान रोक लगाएको छ । पशुपतिनाथको दर्शन गर्न चाहने भक्तजनले जुन बाटोबाट पशुपति मन्दिर प्रस्थान गरेको हो सोही बाटोबाट फर्कनु पर्नेछ ।
आयोगले परिणाम बुझायो– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । मतपरिणाम सार्वजनिक भएको तीन दिन पछि आयोगले आइतबार राष्ट्रियसभाको नतिजा राष्ट्रपति समक्ष बुझाएको हो ।
राष्ट्रियसभामा सरकारबाट सिफारिस हुने ३ जनाको नामबाहेक माघ २४ गते भएको निर्वाचनबाट निर्वाचित ५६ जनाको नाम राष्ट्रपति समक्ष बुझाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
खागसहित सैनिक पक्राउ– प्रहरीले गैंडाको दुईवटा खागसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले १ हजार १ सय ८० ग्राम र ६ सय ४० ग्रामको गैंडाको खागसहित नेपाली सेनाका दुई जना र अन्य ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।
एचआईभी संक्रमित– नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आइतबार भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताए ।
एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको पाइएको छ ।
विदेशका खबर– रसियन विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यसहित ७१ जनाको मृत्यु भएको छ । आइतबार मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको रसियाली सरकारी समाचार एजेन्सीलाई उदृत गर्दै सीएनएनले जनाइएको छ ।
एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै राडार सम्पर्कबाट विच्छेद भएको थियो ।
खेल खबर– आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई पराजित गरेको छ । नामिबियाको युनाइटेड ग्राउण्डमा आइतबार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
युएईले नेपाललाई जितका लागि दिएको ११५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेट खर्चेर पूरा गर्यो । नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् ।
यसअघि नेपालले टस जितेपछि फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो ।
ओसिलो मैदानका कारण ३४ ओभरमा घटाइएको खेलमा युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।