
काठमाडौं, २९ माघ– आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा सोमबार नेपालले केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेपछि सुरु हुनेछ ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको केन्या अहिलेसम्म खेलेका दुवै खेलमा हारेको छ । यसअघि भएको आइसिसी वर्ल्ड लिग च्याम्पियनसिप २०१५–१७ मा नेपाल र केन्याबीच दुईपटक प्रतिस्पर्धा भएको थियो । घरेलु मैदानमा भएका खेलमा नेपाल एक खेलमा विजयी भएको थियो भने एक खेलमा हारेको थियो ।
बिहीबारदेखि नामिबियामा सुरु भएको प्रतियोगितामा घरेलु टोली नाबिबियालाई हराएर विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । तर आइतबार भएको तेस्रो खेलमा युएईलाई चार विकेटले हराएर नेपालले फेरि छनौटको सम्भावना बलियो बनाएको छ ।