काठमाडौं, २९ माघ- पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । २६ असार ०७३ को मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदनसहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेका हुन्, नयाँ पत्रिकामा खबर छ । सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलब्ध गराउने निर्णयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर, पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने या नदिने भन्नेमा अन्योलमा देखिएका छन् । उनलाई प्यांक्रियाजमा समस्या भएकाले उपचार सुरु गरिएको थियो । काठमाडौंको शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गरेको मात्र होइन खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि उनले मागेका छन् । आफूले निवेदनमा दाबी गरेअनुसार तत्काल रकम निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए । कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताएपछि उनी रिंँगटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए । ‘उपचार खर्चको नाममा ७३ लाखको बिल पेस गरे पनि रकम नपाउनेजस्तो देखेपछि प्रेसर लो भएको भन्दै सोफामा ढल्नुभयो,’ मन्त्रालयका कर्मचारीले भने ।