
काठमाडौं, २९ माघ — भारतको जम्मु कश्मीरमा रहेको सुंजवां सैन्य क्याम्पमा ५२ घन्टादेखि सैन्य कारवाही जारी छ । शनिवार बिहानै आतंकवादीहरूले आर्मी क्याम्पमा आक्रमण गरेका थिए ।
सुरक्षाबलले चार आतंकवादीलाई मारेका छन् । आक्रमणमा पाँच जवान शहीद भएका छन् । एक सर्वसाधारण पनि मारिएका छन् ।
यसैबीच श्रीनगरको सीआरपीएफ क्याम्पमा पनि दुई आतंकवादीले एके–४७ राइफलसमेत अनेकौं हतियारका साथ घुस्ने कोशिश गरे । सुरक्षाबलको फाइरिङपछि आतंकवादी भागे ।
सैन्य क्वार्टरको खानतलाशी गर्दा एक सूबेदार, दुई जवान र एक वृद्धको लाश फेला प–यो । मृतक वृद्ध एक जवानका पिता थिए ।
शनिवार आर्मी क्याम्पमा घुसेका आतंकवादीहरू सेनाको बर्दीमा थिए । उनीहरूसँग एके–५६ राइफल, अन्डर ब्यारेल ग्रिनेड लन्चर, थुप्रै गोलीहरू तथा हातेबम थिए ।
शनिवार रातिदेखि फाइरिङ बन्द भएपनि क्याम्पभित्र थप आतंकवादीहरू भएको कुरालाई सेनाले अस्वीकार गरेको छैन ।
उता राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले सेनाले ६–७ महीना लगाएर तयार पार्ने सैनिकलाई संघले तीन दिनमा तयार पार्न सक्ने बताए ।
विपक्षी दलहरूले चाहिँ भागवतको यो भनाइले सेनाका जवानको अपमान गरेका बताए ।
एजेन्सी