
काठमाडौं, २९ माघ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबू धाबीमा बन्न गइरहेको पहिलो हिन्दू मन्दिरको भूमिपूजनमा भाग लिएका छन् । अहिले मोदी पश्चिम एसियाका देशहरूको यात्रा गरिरहेका छन् ।
यूएई सरकारले अबू धाबीमा मन्दिर बनाउनका लागि २० हजार वर्गमिटर जमीन दिएको थियो । मोदी सन् २०१५ मा त्यहाँको दुई दिवसीय यात्रामा गएका बेलामा यो घोषणा भएको थियो ।
मन्दिर अबू धाबीको अल वाकबा नामक स्थानमा बन्नेछ । राजमार्गसँग जोडिएको अल वाकबा अबू धाबीभन्दा आधी घन्टा पर छ ।
मन्दिर बनाउने अभियान चलाउने व्यक्ति बीआर शेट्टी हुन् । उनी अबू धाबीमा प्रसिद्ध भारतीय व्यापारी हुन् । यूएई एक्सचेन्ज नामक कम्पनी उनकै हो ।
त्यसो त सन् २०१७ को अन्त्यसम्ममा बनिसक्नुपर्ने थियो तर अनेक कारणले ढिलाइ भयो । अब मोदीको भ्रमणमा भएको भूमिपूजनपछि मन्दिरको आधारशिला राखिन्छ र काम शुरू हुन्छ ।
मन्दिरमा कृष्ण, शिव र विष्णुका मूर्तिहरू हुनेछन् । विष्णुको अयप्पा अवतारको मूर्ति राखिनेछ । दक्षिण भारत विशेषगरी केरलमा अयप्पाको पूजा गरिन्छ ।
बीबीसी संवाददाता रौनक भन्छन्, ‘मन्दिर भव्य र शानदार हुनेछ । त्यहाँ सानो वृन्दावन पनि हुनेछ अर्थात् बगैंचा र फोहोरा राखिनेछ ।’
मन्दिर बन्ने भएपछि अबू धाबीमा बस्ने हिन्दूहरूमा उत्साह र खुशीको वातावरण छ । उनीहरूले अहिलेसम्म पूजा वा विवाहका अवसरमा दुबई पुग्नुपर्थ्यो र त्यहाँ पुग्न तीन घन्टा लाग्छ ।
दुबईमा शिव र कृष्ण भगवानका दुई मन्दिर अनि एक गुरुद्वारा छन् । अबू धाबीमा चाहिँ चर्चहरू त छन् तर मन्दिर छैनन् ।
भारतीय दूतावासका तथ्यांकअनुसार, यूएईमा लगभग २६ लाख भारतीय हिन्दूहरू छन् । त्यसैले त्यहाँ मन्दिर बनाउने आवश्यकता थियो ।
बीबीसी हिन्दीबाट