
काठमाडौं, १ फागुन– प्रतिनिधिसभामा समानुपातिकतर्फ सिट पाएका सबै दलले निर्वाचन आयोगमा उम्मेद्वारको सूची बुझाएका छन् । आयोगले दिएको समय सीमाभित्रै दलहरुले सूची बुझाएका हुन् । एमाले आइतबार सूची बुझाएको थियो भने कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालले सोमबार बुझाएका हुन् ।
आयोगले दलहरुबाट प्राप्त सूचीमाथि जाँचबुझ गरी सच्याउनुपर्ने भए दलहरुलाई सूची सच्याउन २ दिनको समय दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दलहरुले बुझाएको सूचीमा समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन् ।
नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, ठेकेदार जीपछिरिङ लामा र उद्योगी सूर्यबहादुर केसी पैसाको बलमै सांसद बन्न लागेका हुन् । नेपालका सबैभन्दा धनी खर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसको मधेसी कोटाबाट सांसद् बनाएको हो ।
कांग्रेसले समानुपातिकतर्फ पाएका ४० सिटमध्ये आधाभन्दा बढी अर्थात २२ जना यसअघि पटक–पटक सांसद र समानुपातिकबाट सभासद भइसकेकाहरुलाई दोहोर्याएको छ । पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको मापदण्ड विपरीत अधिकांश पुरानै अनुहार दोहोर्याएको भन्दै असन्तुष्टिसमेत पोखिन थालेको छ ।
यस्तै, सेन्चुरीयन गु्रपका मोतीलाल दुगडलाई एमालेले समानुपातिकबाट सांसद बनाएको छ । समानुपातिक चार पुरुष सांसद बन्ने अवसर पाउँदा दुगडले मौका पाएका छन् । दुगड एमालेको मधेसी कोटाबाट सांसद बन्ने एक मात्र भाग्यमागी हुन् ।
एमाले–माओवादी एकता– एमाले– माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा रहेको बताइएको छ । दुवै दलका अध्यक्षबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र नेतृत्व आलोपालो गर्ने सहमति भएको नेताहरुले बताए ।
ललितपुरको मानभवनस्थित गोप्य स्थानमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको हो ।
अबको सरकारको नेतृत्व एमाले र माओबादी केन्द्रले आलोपालो गर्ने एमाले उपाध्यक्ष भीम रावलले बताए । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले ओली र प्रचण्डबीच भएको वान–टु–वान वार्तामा आलोपालो गरेर सरकार चलाउन सकिनेबारे सहमति भएको खुलासा गरे ।
उता, माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकतापछि बन्ने पार्टीको सह–अध्यक्ष हुने बताएका छन् । भद्रपुर बिमानस्थलमा सञ्चारकर्मीसँग नेता शर्माले बाम गठबन्धनका नेताबीच भएको छलफलले दुवैलाई सह–अध्यक्ष बनाउने सहमति गरेको खुलासा गरेका हुन् ।
सहमति अनुसार पार्टीको नाम ’नेपाल कम्युनिष्ट पार्टी’ रहने छ । अरु नेताको पदीय व्यवस्थापनका लागि पदीय बाँडफाँट समिति गठन हुने भएको छ ।
ओली र प्रचण्डबीचको वान टू वान वार्तापछि एकता संयोजन समिति बैठक डाक्ने तयारी भएको छ । संयोजन समितिको बैठक बुधबार बस्ने बताइएको छ ।
महाशिवरात्रि– आज महाशिवरात्री पर्व मनाईँदै छ । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको बिहानैदेखि घुईँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा राती नै भक्तजन पुगेका छन् । आज मन्दिरका चारवटै ढोका खोलेर छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी, वरपरका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
पशुपति मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि ती क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तार– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक–एक मन्त्री समावेश छन् । एमालेका केशव स्थापितले भौतिक योजना तथा निर्माण र माओवादीका शालिकराम जम्कट्टेलले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री नियुक्त– प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरे । गुरुङको सपथ बुधबार २ बजे प्रदेश प्रमुख निवासमा हुनेछ ।
सभामुखमा भण्डारी– प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् । सभामुखका एकमात्र उम्मेद्वार भण्डारीलाई प्रदेश सभाको सोमबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
यसैगरी, प्रदेश नं. ६ प्रदेशसभाको सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभाको दोस्रो बैठकबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट निर्वाचित एमालेका सांसद शाही निर्विरोध चयन भएका हुन् ।
उता, प्रदेश नम्बर २ को प्रदेशसभा बैठकका मर्यादापालकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने भएका छन् । बैठकले दीर्घकालीनरुपमा भने मर्यादापालक पुरुषका लागि सफारी सुट र महिलाका लागि सारी चोलोको व्यवस्था गर्ने निर्णय गरेको छ।
युवतीको मृत्यु– सम्बन्धविच्छेद् गर्न नमानेको भन्दै श्रीमानबाटै आगो लगाइएकी महिलाको मृत्यु भएको छ । धनुषा सिरेश्वर ८ की २४ बर्षीया फातिमा हजरा खातुनको किर्तिपुरस्थित स्किन अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । सम्बन्धविच्छेद् गर्न नमोको भन्दै श्रीमानले मट्टितेल छर्किएर आगो लगाएपछि उनलाई माघ २५ गते अस्पताल भर्ना गरिएको थियो ।
खेल खबर– नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत सोमबार भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।
केन्याले दिएको १७८ रनको चुनौती नेपालले ४९.५ ओभरमा ७ विकेट खर्चेर पुरा गर्यो । निकै रोमाञ्चक बनेको खेलमा नेपालले १ बल बाँकी हुँदा लक्ष्य भेट्टाएको हो ।
केन्याविरुद्धको जीतसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो ।
केन्यालाई १७७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए ।